बाढीले बगायो लमजुङ र मनाङ जोड्ने पुल , यात्रु अलपत्र

काठमाडौं, असार ८ । लमजुङ र मनाङ जोड्ने पुल बाढीले बगाएको छ ।

लमजुङ र मनाङ जोड्ने म्यार्दी खोलामाथिको बेलिब्रिज बाढीले बगाएको हो । पुल बगाएपछि मनाङसँग सडक सम्पर्क विच्छेद भएको छ ।

लमजुङ र मनाङ सिमानाको मार्दी खोलामा आइतबार दिउँसो आएको बाढीले पुल बगाएको स्थानीयले बताएका छन् ।

पुल बगाएपछि यात्रु अलपत्र परेका छन् । मनाङबाट बेसीशहर आउँदै गरेका चीन घलेका अनुसार म्यार्दी खोलाले पुल बगाउँदा सवारी साधनहरू रोकिएका छन् ।

सडक निर्माण भएको एक दशकपछि मनाङ जोड्न लमजुङ सीमानाको म्यार्दी खोलामा बेलिब्रिज निर्माण गरिएको थियो । गएको वर्ष मात्रै पुल निर्माण गरिएको हो ।

यस्तै उता तिमाङ खोलाको छहरेमा राखिएको ह्युम पाइपसहितको अस्थायी काठे पुल बगाएको ५ । पुल बगाउँदा तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन् ।

मनाङका प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीका अनुसार आइतबार दिउँसो पौने २ बजेतिर पुल बगाएको हो । दुई वटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको छ ।

लमजुङका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले मनाङबाट बग्ने मर्स्याङदी नदीको बहाव बढेकोले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्