तीन अर्ब राजश्व छली गर्ने १५ जनाविरुद्ध मुद्दा
काठमाडौं, असार ६ । विभिन्न व्यक्तिका नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करिब रु तीन अर्ब राजश्व छलेको पाइएको छ ।
सुनसरीको इनरुवा नगरपालिका–९, वलाहा घर भइ हाल भक्तपुरको थिमि बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले करछली गरी ठगी गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
उनीहरुविरुद्ध रु दुई अर्ब ९८ करोड ५७ लाख ५७ हजार ११५ बिगो कायम गरी बिगोको दुई गुणा जरिवाना र तीन वर्ष कैद सजायको माग–दाबीसहित काठमाडौं जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
उनीहरुले विनोद धमाला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाइँ) र पार्वती सूचीकारका नाममा ८ ओटा फर्म दर्ता गरेर नक्कली बिजक तयार गरी राजश्व छलेको अनुसन्धानमा खुलेको मैनालीले जानकारी दिए ।
उक्त फर्मबाट गोपालप्रसाद भट्टराई र रिम्बरध्वज कार्कीले वस्तु तथा सेवाको खरिद–बिक्रीको कारोबार नै नगरी झुटा बिजक बनाएर राजश्व चुहावट गरेको खुल्न आएको छ ।
यस्ता फर्महरुले बिजकमात्र जारी गर्ने गरेको, वस्तु तथा सेवाको वास्तविक खरिद–बिक्री नगरी झुट्टा तथा नक्कली बिजक जारी गरेको र त्यसबाट प्राप्त हुने लाभमा सबैको समानुपातिक हिस्सेदारी भएकाले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिमको कसुर गरेको विभागको दाबी छ ।
राजश्व चुहावटमा फर्मका प्रोपाइटर भट्टराई र कार्कीको मुख्य संलग्नता देखिएकाले करछली गरेको रकमको बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना तथा तीन वर्षसम्म कैद सजायको माग गरिएको छ ।
कर सहयोगी ललितराज कन्दङ्वा र गौरी मैनालीले राजश्व चुहावटमा सहयोग गरेको तथा लेखापरीक्षक जगन्नाथ गुरुङ, शरणबहादुर खड्का र टंकनाथ नेपालले गलत लेखापरीक्षण प्रतिवेदन तयार गरेकाले भट्टराई र कार्कीलाई हुने सजायको आधा सजायको माग–दाबी गरिएको महानिर्देशक मैनालीले जानकारी दिए ।
उक्त घटनामा विभागले चार महिनाअघिबाट अनुसन्धान थालेको थियो ।
यसअघि, विभागले ८१ मुद्दामा रु १८ अर्ब ३२ करोडको बिगो तथा जरिवाना र तीन वर्ष कैद सजायको माग–दाबीसहित २३८ जनाविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्