सत्तारुढ दलकै सांसद्वारा सरकारको चर्को आलोचना
काठमाडौं, असार ६ । सरकारको सत्तारुढ दलकै सांसदले चर्को आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य तथा विशेष समयमा बोल्ने सत्तारुढ दलका सांसदहरुले शान्ति–सुरक्षा दिनप्रतिदिन बिग्रँदै गएको भन्दै सरकारको चर्को आलोचना गरेका हु्न् ।
नेकपा सांसद प्रभु साहले रौतहटमा दिनदहाडै व्यक्ति हत्याका शृंखला बढेको, विकास निमार्णका काममा प्रयोग हुने औजारहरु जलाइने गरेको भन्दै ‘सरकार के हेरेर बसेको छ ?’ भनी प्रश्न गरे ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद मीना पाण्डेले सर्लाहीमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्तालाई नियन्त्रणमा लिएर हत्या गरिएको भन्दै आपत्ति जनाइन् ।
उनले विचार नमिलेको भरमा पक्राउ गर्ने र नियन्त्रणमा लिएर हत्या गर्ने काम गम्भीर मानवअधिकार उलंघन भएको भन्दै छानबिनको माग गरिन् ।
यसैबिच यता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुईतिहाइ मतप्राप्त कम्युनिस्ट सरकार आफ्नै दम्भका कारण पतनको दिशामा गइरहेको बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष भट्टराईले गुठी विधेयक फिर्तालेमात्र समस्या समाधान नहुने भन्दै मिडिया काउन्सिल, मानवअधिकार आयोगलगायतका विधेयकमा पनि पुनःविचार गर्न आग्रह गरे ।
उनले सरकारमा रहेका व्यक्तिहरुमा आलोकाँचो प्रवृत्ति देखिँदा एकपछि अर्को समस्या बल्झिएको टिप्पणी गरे ।
उनले सरकारले ल्याएको बजेट सकारात्मक भएपनि उत्साही बन्ने ठाउँ नरहेको भन्दै ‘कार्यान्वयनको प्रतिबद्धता मुख्य चुनौती हो’–भने ।
अहिलेको कर्मचारीतन्त्रबाट मुलुक रुपान्तरण सम्भव नभएको भन्दै अध्यक्ष भट्टराईले यसमा सुधार प्रमुख विषय भएको बताए ।
प्रतिक्रिया दिनुहोस्