दाङमा सिकलसेल ऐनिमियाको जाँच सेवा शुरु, के हो सिकलसेल ऐनिमिया ?

काठमाडौं, असार ६ । दाङमा सिकलसेल ऐनिमियाको जाँच सेवा शुरु भएको छ ।
दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सिकलसेल ऐनिमियाको जाँच सेवा शुरु भएको हो ।

प्रदेश नं ५ सरकार र तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा इलेक्ट्रोफोरेसिस मेसिन जडान गरेपछि दाङमै पहिलो पटक सिकलसेल एनिमियाको जाँच सेवा शुरु भएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माले जानकारी दिए ।

प्रदेश सरकारको १० लाख र उपमहानगरपालिकाको रु ८ लाखको लगानीमा मेसिन खरीद गरिएको अस्पतालका प्रमुख निमित्त शर्माले बताए ।

अब भने सिकलसेल एनिमिया जाँचको अत्यधुनिक मेसिन आएकाले त्यहाँ पूर्ण रुपमा जाँच हुने र सिकलसेल लागेको बिरामी भए औषधिका लागि सिफारिस गर्न सकिने छ ।

थारुहरुको बाहुल्यता भएको दाङमा ती समुदायमा सिकलसेल भएको भए पनि जाँच नगराउँदा समस्या भएको थियो । यहि समस्याका कारण अहिले उक्त मेसिन ल्याउन पहल थालेको डा शर्माको भनाइ छ । यसअघि बिरामीहरु सिकलसेल जाँच गर्न नेपालगञ्ज वा काठमाडौँ जानुपर्ने अवस्था रहेको थियो । अब भने त्यो समस्या हटेको छ ।

थारु समुदायका अगुवाहरुले पटक–पटक सबै थारुहरुको सिकलसेल जाँच गर्नुपर्ने माग गर्दै आएका थिए ।


डा.शर्माका अनुसार दैनिक ५० जना बिरामीलाई जाँच गर्न सकिन्छ । ‘एक पटकमा नौ जनाको जाँच गर्न सकिन्छ’ उनले भने, ‘यसरी जाँच गर्दा दैनिक ६ घण्टामा ५० जनाको जाँच गर्न सकिन्छ ।’

प्रत्येक बिरामीको जाँच शुल्क एक हजार २०० लाग्नेसमेत उनले बताए ।


सिकलसेल ऐनिमिया के हो ?


मलेरिया विभिन्न प्रजातिका हुन्छन् । तीमध्ये प्लाज्मोडियम फ्याल्सिपेरम एउटा प्रजातिको मलेरिया हो । यो कडा किसिमको हुन्छ । यसका विरामीले समयमै उपचार नपाएको खण्डमा मृत्यु समेत हुन सक्छ ।
त्यस्तै यसको राम्रोसित उपचार नगरे यो एक व्यक्तिबाट सयौं व्यक्तिमा सजिलै सर्ने गर्छ । प्लाज्मोडियम फ्याल्सिपेरम मलेरिया प्रचुर मात्रामा हुने ठाउँमा सिकलसेल ऐनिमिया देखिएको छ ।

शरीरले प्लाज्मोडिम फ्याल्सिपेरम मलेरियाबाट बच्नका लागि हाम्रो मानव शरीरको रक्तकोष हसियाको आकारमा परिवर्तन भई सिकलसेल जस्तो आकारमा बदलिन्छ । अर्थात ‘सिकल’ भनेको हसियाको आकार र ‘सेल’ भनेको रक्त कोषिका हो ।

त्यसैले यसको आकार परिवर्तन भइ हसियाको आकारमा बदलिन्छ । किनभने हसिया आकारको सिकलसेल भएको रक्तकोषिकालाई फ्याल्सिपेरम नामक मलेरियाले आक्रमण गर्न सक्दैन ।

त्यो मलेरियाको प्रतिरोधका लागि उक्त कोषिकाले आकार परिवर्तन गर्दछ । आकार परिवर्तन हुने भएकैले सिकलसेल एनिमिया मलेरिया निश्चित जनसंख्या भएका ठाउँहरुमा मात्र देखिने गरेको पाइएको छ ।

यो खानपानको कारणले हुँदैन । यो पूर्णतया वंशाणुगत हो । यदि बुवा÷आमालाई सिकलसेल छैन भने तिनका छोराछोरीमा यो रोग कुनै पनि हालतमा हुँदैन । तर, यदि दुबैमा छ भने उनीहरुबाट जन्मने बालबालिकामा पनि यो रोग देखा पर्न सक्छ ।

औषधिको अभाव

सिकलसेल एनिमियाका बिरामीका लागि नियमित खाने औषधि दाङमा अभाव देखिएको छ । पश्चिम नेपालका तराई क्षेत्रमा रहेका थारु जातीमा देखिएको बंशानुगत रोग सिकलसेल एनिमियाको उपचार गराइरहेको दाङका एक सय ६५ जना बिरामीले नियमित औषधि पाएका छैनन् । औषधि अभाव हुँदा बिरामी मारमा परेका छन् ।

‘विगत ५÷६ महिनादेखि नै सहज रुपमा औषधि नपाएको दाङ तुलसीपुरका सिकलसेल एनिमियाका बिरामी जीतबहादुर चौधरीले बताए । ‘५÷६ महिना भयो, हामीले औषधि पाएका छैनौं’, उनले भने, ‘दाङमा औषधि नपाउँदा अस्पतालबाट निःशुल्क रुपमा पाइने औषधि लिन हजारै खर्च गरेर भारत जानुपर्ने बाध्यता रहेको छ ।’

जिल्लामा दुई महिनादेखि सिकलसेल एनिमिया औषधिको अभाव भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।

यो औषधिको खरिद सरकारले मात्रै गर्ने भएकाले अस्पतालले चाहेर पनि औषधि ल्याउन नसकिएको दाबी अस्पतालको छ । दाङमा नियमित एकसय ३५ जनाले सिकलसेल एनिमियाको औषधि खाईरहेको भएपनि रोगीको एकीन पहिचान हुन नसकेको थारु स्वास्थ्यकर्मी समाजले जनाएको छ ।

विसं २०६८ को जनगणना अनुसार दाङमा एक लाख ६३ हजार ३३४ थारु समुदायको बसोबास छ । थारुहरुको कूल सङ्ख्यामध्ये दाङमा १५ प्रतिशत थारु समुदायमा सिकलसेल एनिमिया भएको हुनसक्ने यस सम्बन्धी विशेषज्ञ डा राजन पाण्डेले गरेको एक अध्ययनले देखाएको छ । यो रोग वंशानुगत रुपमा लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्