हुम्ला जीप दुर्घटना : जहाँबाट जिप खस्योः जसले निल्यो १० जनाको ज्यान, बेपत्ता सबैको पुत्ला बनाएर गरियो दाहसंस्कार

काठमाडौं, असार ६ । १० जनाको ज्यान जाने गरी सोमबार जिप दुर्घटना भएको सडक कुनै पनि इन्जिनियरिङ मापदण्ड पूरा नगरी निर्माण भएको पाइएको छ ।

जयपृथ्वी नगरपालिकाको पानकोटदेखि मस्टा गाउँपालिकाको भुस्या जोड्ने यो सडक बिना कुनै सर्भे डिजाइन दुई–दुई पटक निर्माण गर्दा लाखौँ रकम खर्चिएको थियो ।

२०७२ सालमा पहिलो पटक निर्माण थाल्दा पानकोटदेखि डुग्राकोट हुँदै साविक कोटदेवल गाविसको भुवाँढुस्कासम्म डोजरले खनेको थियो । जिविसको डोजर प्रयोग गरेर सडक खनिए पनि यसमा प्राविधिक प्रयोग गरिएको थिएन ।

बेपत्ता सबैको पुत्ला बनाएर गरियो दाहसंस्कार

कर्णाली नदीमा जीप खसेर बेपत्ता भएका सबैको पुत्ला बनाएर दाहसंस्कार गरिएको छ । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत बेपत्ता सबै जनाको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको हो ।

हुम्लाको खार्पुनाथमा जीप कर्णाली नदीमा खसेको दुई दिन बितिसक्दा पनि अवस्था थाहा हुन नसकेपछि बुधबार खार्पुनाथ गाउँपालिकाले बेपत्ता सबैको मृत्यु भएको घोषणा गरेको थियो ।

हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा गएको मंगलबार भएको जीप दुर्घटनामा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई गाउँपालिकाले १०–१० हजार किरिया खर्चस्वरुप सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

१० जना चढेको लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनाबाट कर्णाली नदीमा खसेको थियो । खोजीमा तालिम प्राप्त गोताखोरसहितको टोली बुधबारबाटै खटिएको भए पनि अझैसम्म पनि भेट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्