बिनाअनुमति स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न गैरसरकारी संस्थालाई प्रतिबन्ध, सरकारसँग सहकार्य गर्नु पर्ने
काठमाण्डौ , असार ५ । बिनाअनुमति स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न अब गैरसरकारी संस्थालाई प्रतिबन्ध लगाईने भएको छ ।
सरकारले बिनाअनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम संचालन गर्न गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिबिना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउने संघीय मामिला तथा सामान्य प्रशासनमनत्री लालबाबु पण्डितले जानकारी दिएका हुन् ।
सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम संचालन गर्न सक्ने उनले बताए ।
बिहीबार काठमाण्डौमा आयोजित स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तर्रा्ष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् ।
उनले स्थानीय तहमा नागरिकको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार सञ्चालन ऐन’ परिमार्जन गर्न लागिएको पनि जनाकारी दिए ।
उनले स्थानीय तहलाई नागरिकको कामप्रति जवाफदेही बनाउन सरकारले यो ऐन परिमार्जन गरेर अघि बढ्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे ।
मन्त्री पण्डितले संघीय सरकार संविधान अनुसार चलेको र संविधानको परिधिभित्र रहेर स्थानीय तहलाई नागरिकको अपेक्षा अनुसार काम गर्न सक्ने बनाउन आवश्यक कार्यक्रम संचालन गर्न लागि परेको दाबी पनि गरे ।
मन्त्री पण्डितले नागरिकको आकांक्षालाई सम्बोधन गर्न सरकारले स्थानीय तहमा अभिमुखिकरणको कार्यक्रमलाई तीव्रता दिइरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्