विनाअनुमति भारतीय प्रहरी कसरी पुग्यो अछाम ? जनमोर्चाको आपत्ति (विज्ञप्तिसहित)
काठमाडा, असार ३ । विनाअनुमति भारतीय प्रहरी अछाम पुगेको छ । अछाम पुगेका ३ जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएकोे छ ।
भारतको छत्तिसगढबाट खानतलासीका लागि आएका ३ जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।
राष्ट्रिय जनमोर्चाले विना अनुमति भारतीय प्रहरी नेपाल पसेको भन्दै सो घटनाको आवश्यक छानविन गर्न माग गरेको छ ।
मंगलबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै भारतको छतिसगढ प्रहरी नेपालको अछाम जिल्लामा पुगेको घटनाबारे गम्भीर रुपमा छानविन माग गरेका हुन् ।
विज्ञप्तिमा अध्यक्ष केसीले भारतीय प्रहरी एउटा सार्वभौम मुलुकमा विना अनुमति पस्नु अन्तर्रा्ष्ट्रिय कानुनी मान्यता विपरित र सार्वभौम मुलुकविरुद्धको कुरा भएको दाबी गर्दै उक्त व्यवहारको भत्र्सना गरेका छन् । यसले भारतीय साम्राज्यवादको नेपालप्रतिको रवैयालाई थप उजागर गरेको समेत विज्ञप्तिमा जनाइएको छ ।
दुई महिनाअघि अछामका १९ वर्षीय केशव सोनी र भारत छत्तिसगढ कोबार जिल्लाकी १५ बर्षीया किशोरीले भागेर विवाह गरेका थिए । विवाहपछि किशोरी तर्फका आफन्तले छोरी खोजिदिन निवेदन दिएपछि भारतको छत्तिसगढ प्रहरीले भारतका विभिन्न स्थानका साथै नेपालको अछाममा खानतलासी गरेको थियो ।
यसैबिच नेकपाका नेता एवं पूर्वगृहमन्त्री भीम रावलले भारतीय प्रहरीले नेपालभित्र छिरेर कारबाही प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाएका छन्। गृहजिल्ला अछाममै रहेका नेता रावलले भारतको एउटा राज्यको प्रहरीले नेपालको भू(भागमा खानतलासीको आदेश जारी गर्नु र त्यसका आधारमा भारतीय प्रहरी भित्रिनु गम्भीर विषय भएको बताए।
यता राष्ट्रिय जनमोर्चाले भारतको छत्तीसगढ प्रहरी बिनाअनुमति नेपाल आएको घटनाले नेपालको सुरक्षा प्रणालीको गम्भीर स्थिति उजागर गरेको बताएको छ ।
मंगलबार पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति सार्वजनिक गर्दै बिनासूचना वा कूटनीतिक पहल नगरिकन एउटा स्वतन्त्र र सार्वभौम देशको क्षेत्राधिकारभित्र आएर अर्को देशको प्रहरीले खानतलासी वा कुनै अनुसन्धान गर्नु अन्तर्रा्ष्ट्रिय कानुनी मान्यताविपरीत भएको बताएका छन् । साथै उनले यस्तो काम स्वतन्त्र र सार्वभौम देशविरुद्धको कुरा भएको बताउका छन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘भारतीय प्रहरी कसरी अछाम पुग्न सफल भयो ? यो प्रश्नले नेपालको सुरक्षा प्रणालीको गम्भीर स्थितिलाई बताउँछ । स्वतन्त्र र सार्वभौम मुलुकहरूले आपसमा वा आफ्ना नागरिकहरु बीचको समस्यालाई समाधान गर्नका लागि अपनाउने विधि र उपायहरू अन्तर्र्राष्ट्रिय कानुनहरुले निश्चित गरेका छन् । कुनै खानतलासी वा अनुसन्धानका लागि इन्टरपोलद्वारा आउनुपर्दछ ।’
यो घटनाले भारतीय साम्राज्यवादको नेपालप्रतिको रबैयालाई थप उजागर गरेको जनमोर्चाले जनाएको छ । आफ्नै प्रान्त वा राज्यहरु सरह व्यवहार गरेर खानतलाशील गर्ने भारतीय प्रहरीको व्यवहार निन्दनीय भएको भन्दै जनमोर्चाले भ्रत्र्सना गरेको छ ।
यस विषयबारे आवश्यक छानबिन र कारबाही गर्नका लागि पनि जनमोर्चाले सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्