पेट्रोलियम पदार्थबाट उठाइएको रकम बुढीगण्डकी आयोजनाको मुआब्जामा खर्च भयो: मन्त्री पुन
काठमाडौं, असार ३ । उर्जामन्त्री वर्षमान पुनले बुढीगण्डकी आयोजनाका लागि पेट्रोलियम पदार्थबाट उठाइएको रकम मुआब्जामा खर्च भएको बताएका छन् ।
आज लेखा समितिको बैठकमा सांसदहरुले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँका दरले उठाएको रकम कहाँ खर्च भयो भनेर चासो राखेपछि मन्त्री पुनले मुआब्जामा खर्च भएको बताएका हुन् ।
उनले पेट्रोलबाट ३० अर्ब रुपैयाँ संकलन भएकोमा २५ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको बताए । बुढीगण्डकी आयोजनाका गोरखा क्षेत्र प्रभावित क्षेत्रका ६४ हजार सर्वसाधारण उक्त मुआब्जा बाँडिएको उनको भनाइ थियो ।
सरकारले स्वदेशी लगानीमा बुढीगण्डकी जलविद्युत आयोजना बनाउने भन्दै रकमको जोहो गर्न आर्थिक बर्ष २०७३÷७४ को बजेटमार्फत पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ कर लगाउने घोषणा गरेको थियो ।
मन्त्री पुनले बुढीगण्डकीबाट चिनियाँ कम्पनी गेजुवा भागेको भन्ने हल्ला पनि निराधार भएको बताए । मन्त्री पुनले डेटिकेटेड लाइनमा उद्योगीहरुले तिर्नुपर्ने महसुलका विषयमा छानविन समितिले छलफल गरिरहेको बताए ।
१८४ ग्राहकको समस्या रहेको भन्दै उनले समितिको प्रतिवेदन आएपछि थप प्रष्ट हुने बताए । उनले उद्योगीहरुलाई मर्कामा नपर्ने गरी सो महशुल असुल गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्