गुराँस लाइफको ३ लाख २२ हजार कित्ता शेयर लिलामीमा आउँदै

जागरण न्युज
काठमाडौं, ०३ असार । गुराँस लाइफ इनस्योरेन्सको ३ लाख २२ हजार ५ सय ७६ कित्ता शेयर लिलामीमा आउने भएको छ ।

कम्पनीले संस्थापक समूहको २ लाख ४० हजार सय ७१ कित्ता र सर्वसाधारण समूहको ८२ हजार ५ कित्ता सेयर लिलामी गर्न लागेको हो । उक्त लिलामी शेयरमा असार ५ देखि १२ गतेसम्म बोलपत्र पेश गर्न पाइनेछ ।

कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म २ः१ को अनुपातमा हकप्रद निष्काशन गर्दा बिक्री नभई बाँकी रहेको शेयर अहिले लिलामी गर्न लागेको हो । कुल २९ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा २६ लाख ४७ हजार ४ सय २४ कित्ताका लागि मात्र आवेदन परेको थियो ।

लिलामीमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १ सय कित्ताका लागि अवेदन दिन सकिनेछ । संस्थापक शेयरको हकमा भने लिलामी खुला रहेको मितिसम्म कायम संस्थापक शेयरधनी मात्र आवेदन दिन योग्य रहनेछन ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । आवेदन लक्ष्मी बैंकको बिर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, वीरगञ्ज, बाग्लुङ, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरबाट दिन सकिनेछ । यसैगरी, लक्ष्मी क्यापिटल मार्केट, नयाँ बनेश्वर, काठमाडौंबाट पनि बोलपत्र बुझाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्