प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी, बैठक स्थगित, सम्बोधन नगरी रोष्टमबाटै फर्किए प्रधानमन्त्री
काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्न लागको सम्बोधन प्रतिपक्षी दलको विरोधका कारण स्थगित भएको छ ।
सुरुमा प्रतिपक्षी दलका सांसदले आफ्नो भनाइ पहिला राख्नुपर्ने माग राख्दै संसद बैठकमा नाराबाजी गरेपछि प्रधानमन्त्री ओलीको सम्बोधन रोकिएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन् । नाराबाजीका कारण बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दलको नेतालाई पहिला बोल्न दिनुपर्ने माग गर्दै कांग्रेसका सांसदहरुले नारावाजी गरेका हुन् ।
नाराबाजीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्न सकेनन् ।
बैठकलाई सम्बोधन गर्नका लागि रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका सांसदहरुको नाराबाजीका कारण सम्बोधन गर्न नपाएनन् ।
सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्नका लागि समय दिने आश्वासन दिए पनि कांग्रेस सांसदहरु बैठक कक्षको अगाडि पुगेर नाराबाजीमा उत्रिएका हुन् ।
सभामुख महराले पटक पटक बस्न आग्रह गर्दा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेपछि बैठक स्थगित गरिएको हो ।
बैठकअघि पनि महराले सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग बैठकको कार्यसूचीका बारेमा छलफल गरेका थिए । छलफल निश्कर्षमा पुग्न नसके पनि उनले बैठक आरम्भ गरेका थिए ।
प्रधानमन्त्री सम्बोधनका लागि पोडियममा पुगेको भए पनि नाराबाजीका कारण नबोली फर्केका छन् ।
प्रतिक्रिया दिनुहोस्