माथिल्लो तामाकोशीको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान , अब भने कामले गति लिने

काठमाडौं, असार २ । अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको माथिल्लो तामाकोशीको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गरिएको छ ।

स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु भएको हो ।

लामो समयको प्रयासपछि सुरुङमा आइतबार सफलतापूर्वक पाइप जडान भएको आयोजनाले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाका प्रवर्द्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङ र प्राधिकरणका संचालकद्वय चेतराज जोशी तथा भक्तबहादुर पुनको उपस्थितिमा पाइप राख्न सुरु गरिएको हो ।

तल्लो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौलको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो ।

तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइपमा सोमबार अर्को पाइप राखिएको हो ।

अब त्यसलाई मिलाउने, वेल्डिङ गर्ने र त्यसपछि कंक्रिट गरिने आयोजनाले जनाएको छ । त्यसपछि अर्को पाइप जडान सुरु हुने छ । तल्लो पेनस्टक साफ्टमा ३७२ मिटरमा ७४ वटा पेनस्टक पाइप जडान गर्नुपर्ने छ ।

पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्यौलता हटेको कार्यकारी निर्देशक घिसिङले बताए ।

पेनस्टक पाइप जडान ज्यादै गाह्रो थियो, यस अघि जडान सुरु गर्दा क्रेनको डोरी नै चुँडिएको थियो, त्यसपछि क्रेनले काम गर्ने र नगर्ने लगायतका अन्यौल र अनिश्चितता थियो, अब पहिलो पाइप सफलतापूर्वक राखिएपछि सबै अन्यौलता हटेर आयोजना सम्पन्न हुने दिशातर्फ अगाडि बढेको छ,’ उनले भने ।

कार्यकारी निर्देशक घिसिङले भने,‘पहिलो युनिटबाट (७६ मेगावाट) पुसभित्रमा उत्पादन गर्ने लक्ष्य राखेका छौँ, यसमा केही तलमाथि हुनसक्ला तर आयोजना आर्थिक वर्ष २०७६र७७ भित्रै निर्माण सम्पन्न हुने छ ।

उनले क्रेनले ६ मिटर प्रति मिनेटका दरले पाइप झार्ने हुँदा अब कामले गति लिने जानकारी दिए ।

आफुले आयोजनाको जिम्मेवारी लिएकाले समयमै कार्य पुरा गर्न घिसिङले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्