रुपन्देहीबाट पेस्तोल र गोलीसहित तीनजना लुटेरा पक्राउ

काठमाडौं, जेठ ३१ । प्रहरीले रुपन्देहीबाट नल-कटुवा पेस्तोल र एक थान गोलीसहित तीनजना लुटेरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका ६ का २० वर्षीय अर्जुन मुसहर, सोही स्थानका २० वर्षीय सुरज दर्जी र २२ वर्षीय मनिष परियार रहेको प्रहरीले जनाएको छ।

हतियार लिएर हिँडेको सूचना प्राप्त भएपछि जाँच गर्ने क्रममा मुसहरको साथबाट पेस्तोल र दर्जीको साथबाट गोली बरामद भएको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए। पछिल्लो समय प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ।

एसपी थापाका अनुसार पक्राउ परेकाहरु विभिन्न चोरी र लुटपाट घटनामा संग्लन रहेको पाइएको छ।


पक्राउ परेका लुटेरा रहेको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरुले बुटवलको एक घरबाट ६० हजार रुपैयाँ र सुन, मोटरसाइकल चोरी, मोटरसाइकलमा लिफ्ट मागेर नगद लुटपाट गरेको प्रराम्भिक अनुसन्धाबाट खुलेको उनले बताए।

पक्राउ परेकामाथि रुपन्देही जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।


पछिल्लो समय रुपन्देहीमा लुठपाट तथा चोरीका घटना दिप्रतिदिन बढ्दै जान थालेका छन् । यसै बिच यस्ता घटना बढ्दा प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी समेत बढाएको छ।

प्रतिक्रिया दिनुहोस्