विरोधका बाबजुद पनि १ लाख १८ हजारले दिए लोकसेवा आयोगमा आवेदन
काठमाडौं, जेठ ३१ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ।
समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ। आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आए पनि पुनः अहिले भने बढेको बताए।
उनका अनुसार गत सोमबार समितिले निर्देशन दिएको दिन करीब २ हजार ५ सय जनाले मात्र आवेदन दिएकामा अहिले भने त्यो सङ्ख्या वृद्धि भएको छ। ’समितिले निर्देशन दिएको केही दिनसम्म आवेदन दिनेको सङ्ख्यामा कमी आएको थियो,’ उनले भने, ’तर, अहिले भने पहिल्यैकै जस्तै आवेदन आउन थालेका छन्। आवेदन दिने समय सकिन थालेकाले आवेदन दिनेको सङ्ख्यामा वृद्धि भएर सर्भरको चापसमेत बढेको छ।’
समितिले निर्देशन दिएको दिनसम्म करीब ५१ हजार ४ सय ६३ जनाले आवेदन फाराम भरेकामा अहिले फाराम भर्न ५ दिनमात्र बाँकी छँदा १ लाख १८ हजार ३ सय ४१ जनाले आवेदन फाराम भरेका छन्।
आवेदन खुला गरेको १५ दिन बितिसक्दा पनि सोचेअनुसारको आवेदन नआएको उनको भनाइ छ। उनका अनुसार आवेदन दिनेमा महिला २९ हजार २ सय ६७, जनजाति १३ हजार ७ सय ५१, मधेशी ६ हजार ७ सय ३२, दलित ८ सय ४४, अपाङ्गता भएका ५६ र पिछडिएका समुदायबाट ३७ जना रहेका छन्।
गत जेठ १५ गतेदेखि असार ३ गतेसम्म लागू हुनेगरी ५ सय १५ स्थानीय तहका लागि आयोगले विभिन्न ९ हजार १ सय ६१ पदका लागि आवेदन माग गरेको थियो।
आवेदन फाराम भरेकामध्ये करीब ४० हजार ५ सयले दस्तुर बुझाएका छन्।
एकैपटक धेरैको सङ्ख्यामा कर्मचारीको माग गरिएकाले आयोगले करीब ५ देखि ६ लाख परीक्षार्थीले आवेदन दिनसक्ने आँकलन गरेको थियो। उनले अझै केही दिन आवेदन दिने समय भएकाले सङ्ख्या वृद्धि हुनसक्ने बताए।
समितिले मङ्गलबार नै विज्ञापन रोक्न निर्देशन दिएको पत्र आयोगमा पठाए पनि आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली मुलुक बाहिर रहेकाले समय लाग्ने आयोगका सूचना अधिकारी सुवेदीले जानकारी दिए।
अध्यक्ष बाहिर रहेकोले आयोगका पदाधिकारीको पूर्ण बैठक बस्न नसक्ने भएपछि समितिले पठाएको पत्रबारे निर्णय गर्न ढिलाइ हुने उनले बताए।
प्रतिक्रिया दिनुहोस्