नेपाल-भारत सीमा क्षेत्रको जोगबनी नाका बिहीबारदेखि बन्द, नेपालतर्फ आउने सामानहरु भारतीय भूमिमा नै ठप्प

काठमाडौं, जेठ ३१ । नेपाल–भारत सीमा क्षेत्र जोगबनी नाका बिहीबारदेखि बन्द भएको छ ।

नाका बन्द भएपछि नेपालतर्फ आउने सामानहरु भारतीय भूमिमा नै ठप्प भएका छन् ।

नाका ठप्प हुँदा नेपालबाट भारत र भारतबाट नेपालतर्फ आउजाउ गर्ने गर्ने दुई सयभन्दा बढी मालवाहक गाडीहरु बीच बाटोमै अलपत्र परेका छन् ।

भारत तथा तेस्रो मुलुकबाट आयात भएका सामानहरु लिएर नेपाल आउँदै गरेका मालवाहक गाडीहरु बोर्डरमै रोकिएको छ भने नेपालबाट फर्कने क्रममा रहेका सवारी साधन पनि नेपालतर्फ नै रोकिएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता मनीराम पौडेलले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नेपालबाट खाली गाडीलाई विराटनगर–१८ को बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को बाटो हुँदै फर्काउने विषयमा भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिए ।

भारतको जोगवनी भन्सारका एजेन्ट र भारतीय सीमा सुरक्षा बल एसएसबीबीच उत्पन्न समस्याका कारण नाका ठप्प भएको हो ।

एसएसबी र भारतीय भन्सारबीचको विवाद उग्र बन्दै गएपछि त्यसको असर सीमा नाकामा पर्न गएको हो ।

प्रतिक्रिया दिनुहोस्