पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न निर्देशन, पुल निर्माणमा गम्भीर त्रुटी

काठमाण्डौ ,जेठ ३१ । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारवाहीको निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले पप्पु कन्स्ट्रक्सनले काठमाडौंको तीनकुने र मीनभवन जोड्ने गरी बाग्मती नदीमाथि निर्माण गरिरहेको पुल गुणस्तरहीन रहेको निष्कर्षसहित कारबाहीका लागि सरकारलाई निर्देशन दिएको हो ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधीन पुल निर्माणमा गम्भीर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको बताएको छ ।

उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरीत गुणस्तरहीन काम गरेको पाइएकाले त्यस कम्पनीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिईन् ।


समितिले त्यस पुलको स्थलगत निरीक्षणसमेत गरेको थियो । त्यसक्रममा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै पुलको निर्माण कार्यअघि बढाउनु भनेकोमा त्यस कम्पनीले त्यसविपरीत काम अघि बढाएकाले कारबाही गर्न सिफारिस गरेको हो ।

दिएको निर्देशनसमेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुशी गर्ने त्यस कम्पनीलाई कारबाही गर्नुको विकल्प नरहेको समितिको निष्कर्ष छ ।

समितिले त्यस पुलको पुनः डिजाइन नगरी काम अघि नबढाउन पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्य जीपछिरिङ लामाले त्यो पुलको निर्माण कार्यमा ढिलाइ गर्न नहुनेमा जोड दिएका थिए । उनले निर्माण कम्पनीले दिनरात काम गरेर भएपनि त्यो पुलको निर्माण कार्य गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्ने पनि स्पष्ट पारे ।

पप्पु कन्स्ट्रक्सन कम्पनी विवादित निर्माण कम्पनी हो । यसले अन्य आयोजनाहरुको काम पनि सुरु गर्ने अनि अलपत्र छाड्ने काम गरिरहेको छ ।


२१ करोड ३३ हजार रुपैयाँको लागतमा तीनकुनेका २ वटा पुलको निर्माण गर्ने ठेक्का पाएको पप्पुले कमसल निर्माण गरेको भन्दै सडक विभागले काम रोक्न पत्र काटेको थियो । सडक विभागको पत्रलाई अटेरी गर्दै पप्पुले पुल निर्माण अघि बढाएपछि उसको भुक्तानीसमेत रोकिएको छ ।

पुल निर्माणमा भएको लापरवाहीबारे सांंसदहरुले कुरा उठाएपछि समितिकी सभापति कल्याणी खड्काको नेतृत्वको टोलीले जेठ २ गते पुल निर्माणको स्थलगत अध्ययन समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्