धादिङको ज्यामरुङमा भोज खाँदा ३० जना बिरामी, १९ जनाको अवस्था गम्भिर
काठमाडौ, ३१ जेठ । धादिङको ज्यामरुङमा भोज खाँदा ३० जना बिरामी परेका छन् भने विरामी मध्य १९ जनाको अवस्था गम्भिर रहेको छ । नीलकण्ठ नगरपालिका–११ स्थित सिम्ले ज्यामरुङमा बुधबार पास्नीको भोज खाँदा ३० जना बिरामी परेका हुन् । उक्त विरामीहरुको उपचारका लागि जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको छ ।
स्थानीय रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० जनाभन्दा बढी बिरामी परेको र १९ जनाको अवस्था जटिल भएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले जानकारी दिए ।
भोज खाएपछि अचानक बुधबार रातिदेखि नै उनीहरु बिरामी पर्न थालेका थिए । बिहीबार सम्ममा १९ जनाको अवस्था जटिल भएपछि उनीहरुलाई जिल्ला अस्पताल लगिएको थियो ।
बिरामीहरुमा दिसा पातलो हुने, वान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ । बिरामी भएकामध्ये भारमाले र सुकौरा गाउँका मात्र २० जना रहेको बताइएको छ ।
एकैपटक धेरैजना बिरामी हुँदा ‘फुड प्वाइजन’ भएको चिकित्सकहरुको अनुमान छ । यता प्रहरीले पनि घटनाको वारेमा अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्