गुठी समस्याको समाधान वार्ताको माध्यमबाट खोजः राष्ट्रिय मानव अधिकार आयोग


काठमाडौं, ३० जेठ । राष्ट्रिय मानवअधिकार आयोगले गुठीसम्बन्धीे विधेयकका विषयलाई लिएर जनमानसमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादको माध्यमबाट खोज्न सरकारसँग आग्रह गरेको छ ।

गुठीसम्बन्धी विधेयकलाई लिएर संघर्षमा उत्रिएका जनसमुदायहरुलाई सरकारले अधिक बल प्रयोग गरेपछि आयोगले बुधबार एक विज्ञप्ति नै जारी गरेर वार्ता र संवादकका माध्यमबाट असहमति र असन्तुष्टिलाई समाधान गर्न सरकारसँग आग्रह गरेको हो ।

जनताको शान्तिपूर्णरूपमा भेला हुने तथा प्रदर्शन गर्ने नागरिकको अधिकारको सम्मान गर्न आग्रह गरिएको छ । आयोगका निर्देशक डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ घाइतेको स्वास्थ्य उपचार गर्न र दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याई वार्ता गर्न पनि आयोगले सरकारसँग माग गरेको छ ।

सरकारले सङ्घीय संसद्मा दर्ता गराएको गुठीसम्बन्धीे विधेयक खारेजीको माग गर्दै जेठ २६ गते गुठीयारले गरेको प्रदर्शनमा प्रहरीले अधिक बल प्रयोग गर्दा धेरै प्रदर्शनकारी घाइते भएका छन् । त्यसै गरि विरोधका कार्यक्रम संयमित भएर सञ्चालन गर्न समेत प्रदर्शनकारीलाई आयोगले आग्रह गरेको छ ।

संसारभर नै सांस्कृतिक अधिकार मानवअधिकारकै अभिन्न अङ्ग हुने स्मरण गराउँदै आयोगले परम्परादेखि चलिआएको विभिन्न वर्ग तथा समूहका मानवहरुको संस्कृति लोप हुने अवस्था आउन नदिनेतर्फ सरकार संवेदनशील भएर निर्णय लिन सरकारलाई सुझाए दिएको छ ।

प्रतिक्रिया दिनुहोस्