भुकम्पबाट क्षति भएका चार लाख घरको पुनर्निमाण सकियो , दुई लाख २८ हजार बन्दै

काठमाडौं, जेठ २९ । भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्पन्न गरेको छ ।

दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको प्राधिकरणले जानकारी दिएको छ ।

संघीय संसदको दीगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये ५२ प्रतिशतले पुनर्निर्माण सम्पन्न गरेको, ३० प्रतिशतले घर बनाउँदै गरेको र समग्रमा ८२ प्रतिशत उपलब्धी हासिल भएको जानकारी दिएका हुन् ।


निजी आवास पुनर्निर्माणका लागि हालसम्म ७ लाख ६७ हजार २ सय ४८ लाभग्राहीले अनुदान सम्झौता गरेका छन्। त्यसमध्ये ९९ प्रतिशतले प्रथम किस्ता लिएका छन् भने ७६ प्रतिशतले दोस्रो किस्ता र ५७ प्रतिशतले तेस्रो किस्ता भुक्तानी लिएका छन्।

सरकारले निजी आवास पुननिर्माणमा पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । प्राधिकरणले अनुदान लिएका लाभग्राहीलाई छिटो घर पुनर्निर्माण थाल्न आग्रह गर्दै आएको छ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पलाई अवसरका रुपमा लिएको र निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सुरक्षा निकाय र सरकारी भवन पहिले भन्दा राम्रा, बलियो र सुरक्षित बनेको बताए ।

‘निजी आवास पुनर्निर्माणलाई सबैभन्दा महत्व दिएर काम गरेका छौं, उनले भने– शैक्षिक संस्था, स्वास्थ्य संस्था, सम्पदा लगायत भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणका मूलभूत कार्य पूर्व्निर्धा्रित समयमा नै सम्पन्न गर्नैछौं।’

राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पुनर्निर्माण उत्साहजनक रुपमा अघि बढेको बताए।

यस्तै सांसद खिमकुमार विकले पुनर्निर्माणमा भएका उपलब्धीहरुले आशा जगाएको भन्दै भूकम्पपछिको चुनौतीलाई अवसरका रुपमा लिएर काम गरिरहेको बताए।

सांसद महेशकुमार महराले पुनर्निर्माणका प्रगति राम्रो भएको टिप्पणी गर्दै भूमीहिन र सुकुम्बासीका मुद्दाहरुलाई सम्बोधन गरेर अघि बढ्न सुझाव दिए ।

अर्का सांसद चक्रप्रसाद स्नेहीले निकै जटिलताबीच पनि पुनर्निर्माण अघि बढेको टिप्पणी गर्दै अझ तीव्रताका साथ काम गर्न आग्रह गरे ।

सांसद कमला ओलीले सुदुरपश्चिममा हावाहुरीले क्षति पु¥याए पनि प्राधिकरणले सहयोग नगरेको गुनासो गरे ।


अर्का सांसद प्रमिलादेवी यादवले धरहरा, रानीपोखरी, सिंहदरबार लगायतका काम भइरहेको प्राधिकरणलाई धन्यवाद दिँदै प्रदेश नम्बर दुईका विभिन्न स्थानमा हावाहुरी र बाढी पहिरो पीडितलाई सहयोग गर्न आग्रह गरे ।
सांसद रमेशजंग रायमाझीले कतिपय एकीकृत बस्ती गाउँमैत्री नभएको टिप्पणी गर्दै गाइवस्तु पाल्ने ठाउँ नराखिएकोमा आलोचना गरे ।

सांसद डा. बिमला राई पौड्यालले पछिल्लो समयमा प्राधिकरणले गरेका कार्यहरुले पुनर्निर्माणमा आशा जगाएको बताइन् । उनले भौतिक संरचनाहरुको पुनर्निर्माणमा राम्रो प्रगति भएको भन्दै जीविकोपार्जनका थप कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिइन् ।

सांसद भैरवसुन्दर श्रेष्ठले विश्व सम्पदा सूचीमा परेका सम्पदाहरुको पुनर्निर्माण निकै जटिल हुने भन्दै प्रतिबद्धताअनुसार प्राधिकरणले काम गरेकोमा धन्यवाद दिए ।

कतिपय स्थानमा भत्केका तथा भौतीक संरचनाहरको पनर्निमाणमा अझै पनि ढिलासुस्ती भएको छ । यसमा कसैको ध्यान नजादा पनि ती भौतिक संरचनाहरु समयमै बन्न नसकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्