इस्वी सनको नयाँ वर्ष २०१८ सुरु

काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार सोमबार नयाँ वर्ष इस्वी सन् २०१८ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको शुरुवात भएको हो ।

सनमा सौरमासको गणना हुने तर चन्द्रमासको गणना नहुने भएकाले ज्योतिषशास्त्रअनुसार यो वैज्ञानिक नभएको विभिन्न संवतसम्बन्धी अनुसन्धानमा लागेका डा शास्त्रदत्त पन्त बताउँछन् ।

“इस्वी सनमा चन्द्रमासको गणना नहुने भएकाले समयक्रममा दिन फरक पर्दा शासक वा पादरीले भिटो लगाएर यसको निर्णय गर्छन्, यसैले यो पटक पटक विवादमा आएको संवत् हो”, उनले भने ।

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।

यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।

केही वर्षअघि देखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्