सुविधा सम्पन्न बाल अस्पताल खोल्न जुटे डा. कोईराला

काठमाडौं, २७ जेष्ठ । नाममात्र नभइ कामले समेत भगवान भनि नागरिकहरु भन्ने गर्छन् वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइरालालाई । उनी मुटुरोगीका मात्र भगवान थिए यतिन्जेल । अब भने उनको पहिचान फेरी बाल स्वास्थ्य केन्द्रीत भएको छ । विशेषगरी बालबच्चाहरुका लागि कोइरालाले सम्पूर्ण रोगको एउटै थलोमा उपचार हुने अस्पताल निर्माणको क्रममा अहोरात्र जुटेका छन् । उनको नेतृत्वमा समिति समेत बनिसकेको छ । उक्त इन्स्टिच्युटको समितिमा हाल बुद्ध एयरका अध्यक्ष वीरेन्द्र बस्नेत, उद्योगी वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, दीपक सापकोटा, डा.ज्योतिन्द्र शर्मालगायतको सात सदस्य रहेका छन् ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सोमबार याक एन्ड यति होटलमा एक समारोहबीच बाल अस्पतालको अवधारणा समेत सार्वजनिक गरिसकेका छन् ।

कोइराला नेतृत्वको इन्स्टिच्युटले जन्मेदेखि १८ वर्षमुनिका बालबालिकाका सबै रोग उपचारका निम्ति गैरनाफामूलक अस्पताल स्थापना गर्न जुटेको कुरा अवधारणा मार्फत सार्वजनिक गरिएको हो । लगानी आह्वान नगर्दै अहिले झन्डै एक करोड संकलन भइसकेको डाक्टर कोइरालाले जानकारी दिए ।

यो अवधारणामा सबैको साथ सहयोग रहेमा आवश्यक लगानी संकलन हुन सके सन् २०२२ सम्ममा भौतिक पूवाधारसहित गुणस्तरीय बाल अस्पताल निर्माण सम्पन्न हुने कोइरालाले जानकारी दिए ।

कोइरालाले भने, ‘नेपालमा बहुविशेषताको बाल रोग उपचारमा अस्पताल छैन, भएका अस्पतालमा तमाम उपचार सम्भव भएको छैन । यो अवधारणा कार्यान्वयन गर्नु चुनौती पनि त्यत्तिकै छ । ’ यो अस्पताल सञ्चालन भएपश्चात बाल उपचारमा क्रान्ति हुने उनको दावी छ ।

उनको अवधाराणा अनुसार सुरूमा राजधानीमा सय शैयाको अस्पताल निर्माण प्रक्रिया थालिने छ । राजधानीमा अस्पताल सञ्चालनमा आएपछि सातै प्रदेशमा कम्तीमा ५० शैयाको अस्पताल स्थापना गर्ने लक्ष्य रहेको छ ।

अस्पतालको लागि संघीय राजधानी काठमाडौंमा अस्पताल निर्माणको लागि ४० रोपनी जग्गा आवश्यक पर्ने र सो जग्गा सरकारबाट लिजमा लिने योजना रहेको उनले बताए ।

‘एक महिनाभित्र जग्गा उपलब्ध हुने गरी सरकारसँग कुरा राखेका छौं, प्रक्रियामा छ,’ डा. कोइरालाले भने, ‘हुन त यस्तो अस्पताल सरकारले नै निर्माण गर्नुपर्ने हो, तर अस्पताल सञ्चालन गर्ने सरकाको तत्काल योजना छैन ।

कोइरालाका अनुसार देश तथा विदेशमा रहेका नेपाली तथा शुभचिन्तकबाट सहयोग अपेक्षा गरिएको छ। जग्गाको टुंगो लागेपछि सहयोगका लागि आह्वान गरिने उनले बताए ।

यस्तो अस्पताल निर्माण सम्पन्न गर्न करिब रु. दुई अर्ब रुपैयाँ आवश्यक पर्ने कोइरालाले बताउँदै उनले समयमै जग्गा उपलब्ध भए ६ महिनामा डिजाइन तयार पारी निर्माण कार्य सुरु गर्न सकिने उनले जानकारी दिए ।


कूल जनसंख्याको झन्डै ४० प्रतिशत बालबालिका रहेको छ । समयमै रोगको पहिचान र उपचार नपाउदा नेपालमा मातृ शिशु मृत्युदर घट्न पनि सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्