अर्थमन्त्री खतिवडा भन्छन् – सर्टिफिकेट धितो राखेर सरकार ऋण दिन तयार भए पनि युवाहरुले चासो नै देखाएनन्

काठमाण्डौ , जेठ २३ । सर्टिफिकेट धितो राखेर सरकार ऋण दिन तयार भए पनि युवाहरुले चासो नदेखाएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताएका छन् ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन युवाहरुले चासो नदिएको उनले बताए ।

चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण लिने योजना प्रभावकारी नभएको सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकार ऋण दिन तयार भए पनि ऋण लिनेहरु तयार नभएको बताएका हुन् ।

उनले भने ‘हामीले सुहलियतमा ऋण दिने भनेकै हो, दिनेहरु तयार छन् तर लिन तयार भएनन, ऋण लिन्छु भन्दा बैंकले दिएनन भने गुनासो सुनुवाइ हुन्छ तर हामीसँग गुनासो आएको छैन’,

चालु आर्थिक वर्षको बजेटमा उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाइएको उल्लेख थियो ।

सरकारले बजेटमै योजना राखेपछि धेरै युवाहरु उत्साहित भएका थिए । तर बजेट कार्यान्वयनको नौ महिनामा जम्मा ६ जना युवाहरुले मात्रै यस्तो ऋण पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्