पशुपतिनाथ मन्दिरमा ९ किलो सुन, एक अर्ब २९ करोड नगद
काठमाडौं , जेठ २२ । पशुपतिनाथ मन्दिरमा नौ किलो सुन रहेको पाइएको छ।
पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा ९ किलो ५ सय ८६ ग्राम सुन जम्मा भएको विवरण अध्ययन समितिले दिएको छ ।
पशुपतिनाथको जग्गा सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दिएको प्रतिवेदनअनुसार ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी त्यहाँ संकलित छ ।
समितिका अनुसार यो २०१९ देखि २०७५ सम्मको विवरण हो ।
२०१९ भन्दा अगाडिको मुचुल्का प्राप्त नभएको समितिले जनाएको छ । नगद मौज्दाततर्फ एक अर्ब २९ करोड ३८ लाख, ३१ हजार २ सय १५ रुपैयाँ ५२ पैसा विभिन्न बैंकमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सो रकममध्ये एक अर्बको अक्षय कोष निर्माण गरिएको छ ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०७४ कात्तिक ६ गते पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन समिति गठन गरेको थियो ।
उक्त समितिले समयमा प्रतिवेदन बुझाउन नसकेपछि २०७५ साउन २९ गते ६ महिना म्याद थप गरिएको थियो । समितिले हालै प्रतिवेदन तयार गरेर बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा २०६८ चैतमा पशुपति क्षेत्र विकास कोष ऐन र नियमावली आएपछि सुन र चाँदी थपिएको देखिएको छ।
जसअनुसार, २०५९ देखि २०७५ सम्म कोषको सम्पत्ति संरक्षण महाशाखाबाट प्राप्त विवरणमा एक हजार ४४.६४ ग्राम सुन र एक लाख ४१ हजार एक सय २८.७५ ग्राम चाँदी थपिएको हो।
प्रतिक्रिया दिनुहोस्