अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’, अब ११ वटासम्म जहाज पार्किङ गर्न सकिने

काठमाडौं, जेठ २१ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ ।

विमानस्थलको क्षमता विस्तार गर्नेक्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो ।

उक्त पार्किङ क्षेत्रमा ‘वाइडबडी’ क्षमताका दुई र ‘न्यारोबडी’ क्षमताका तीनओटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ ।

नयाँ पार्किङ मंगलबारैदेखि सन्चालनमा ल्याइने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

नयाँ पार्किङसहित आन्तर्रा्ष्ट्रिय पार्किङ वेको संख्या ११ पुगेको छ ।

महाप्रबन्धक क्षेत्रीले पार्किङ क्षेत्र निर्माण भएसँगै विमानस्थलको चाप व्यवस्थापनमा सहज हुने बताए ।

यसअघि, पार्किङको समस्याका कारण पनि विमानस्थलमा जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुने गरेका थिए ।

उनकाअनुसार रु ४० करोड ५० लाखको लागतमा झन्डै १६ महिनाको अवधिमा पार्किङ क्षेत्र बनाइएको हो ।

एकमात्र धावनमार्ग र पर्याप्त पार्किङ वेको अभावमा त्रिभुवन विमानस्थलमा बढी ट्राफिक चाप पर्दै आएको छ ।

विमानस्थलको दक्षिणपूर्वी क्षेत्रमासमेत नयाँ पार्किङ वे निर्माण भइरहेको छ । यसमा पनि दुई वाइडबडी जहाज राख्न सकिने विमानस्थलले जनाएको छ ।

सामान्यतया अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कुनै जोखिमपूर्ण विस्फोटक पदार्थ बोकेको वा अपहरणकारीले कब्जा गरेको जहाज अवतरण गराउन मुख्य पार्किङ क्षेत्रभन्दा केही पर रिमोट पार्किङ वे बनाइएको हुन्छ । त्यहाँ जहाज राख्नुको मतलब सम्भावित क्षति न्यूनीकरण गर्नु हो ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पहिलोपटक यस्तो पार्किङ क्षेत्र बनाइएको हो ।

अन्तर्रा्ष्ट्रिय विमानस्थलको इतिहासमै पहिलोपटक धावनमार्ग पूर्णरुपमा मर्मत ‘रनवे रिह्याब’को काम तीव्रगतिमा भइरहेको छ ।

धावनमार्ग मर्मतको ६० प्रतिशत काम सम्पन्न भएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

गत चैत १८ देखि राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घन्टा विमानस्थल बन्द गरेर मर्मतको काम गरिँदै आएको छ ।

अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ ओटा वायुसेवा प्रदायक कम्पनीले अन्तर्रा्ष्ट्रिय उडान भर्दै आएका छन् ।

आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० ओटा वायुसेवा प्रदायक कम्पनीले सेवा दिइरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्