‘न्यू इयर इभ’मा कडा सुरक्षा, बिहानैदेखि मापसे चेकिङ, ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

काठमाडौं । न्यू इयर इभको बहानामा हुन सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले विषेश सुरक्षा व्यवस्था लागु गरेको छ । मानिसको धेरै भीडभाड हुने राजधानीका ठमेल, दरबारमार्ग, लाजिम्पाट तथा ललितपुरको झम्सीखेल र भक्तपुरको दरबार क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले बढी भीडभाड हुने क्षेत्रमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरेको छ । “विगतका वर्षहरुमा भएका घटनालाई मध्यनजर राख्दै हामीले सुरक्षा व्यवस्था मिलाएका छौं,” महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकले भने, “न्यू इयरमा कुनै पनि अवान्छित गतिविधि हुन नदिन हामी सचेत छौं ।” बिहानैदेखि ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा सुरक्षा चेकजाँच बढाइएको उनले जानकारी दिए ।

उनका अनुसार ठमेल र दरबारमार्गमा मात्र १४ सय प्रहरी बिहानैदेखि परिचालित छन् भने काठमाडौंभर करिब ४ हजारको संख्यामा प्रहरी परिचालित हुनेछन् ।

“हामीले तालिम प्राप्त कुकुरदेखि सादा पोशाकका प्रहरीलाई बिहानैदेखि तैनाथ राखेका छौं । ट्राफिक प्रहरीसँग समन्वय गरी मापसे चेकजाँचलाई पनि बिहानैदेखि सुरु गरेका छौं,” धानुकले भने ।

यसैबीच, गृह मन्त्रालयले अंग्रेजी नयाँ वर्षको अवसरमा ठमेल र दरबारमार्ग २४ सै घन्टा खोल्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल तथा दरबारमार्गको रात्रि व्यवसाय बिनारोकतोक सञ्चालन गर्न अनुमति दिएको हो ।

स्थानीय प्रशासन, प्रहरी, होटल रेस्टुराँ तथा पर्यटन व्यवसायीबीचको छलफलपछि प्रशासनले रात्रि व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको बताइएको छ ।

रात्रि व्यवसाय सञ्चालनका नाममा अपराध तथा विकृति बढेको भन्दै गृह मन्त्रालयले ०६५ असोजदेखि राति ११ बजेपछि होटल रेस्टुराँ तथा डान्सबार सञ्चालनमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्