नेपाल र चीन सरकारबीच हवाई सेवा सम्झौता पुनरावलोकन हुने
काठमाडौं , जेठ १७ । नेपाल र चीन सरकारबीच हवाई सेवा सम्झौता पुनरावलोकन हुने भएको छ ।
सम्झौता पुनरावलोकन गर्न आगामी साउन ७ र ८ गते चीनको राजधानी बेइजिङमा वार्ता हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
बेइजिङ वार्ताबाट सन् २०१४ मा भएको पछिल्लो सम्झौतालाई संशोधन गरिने मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए ।
सन् २०१४ मा नेपाल र चीनबीच सातामा ५६र५६ उडान गर्न सकिने गरी सम्झौता भएको थियो । यो सहमतिबाट बढाएर सातामा ७० उडान र्पुयाइएको छ ।
हाल चीनबाट नेपालमा साताको ५६ वटै उडान हुने गरेको छ। तर, नेपाली कम्पनीलाई भने चीनले सहज वातावरण बनाउन अहिले सम्म सकेको छैन । सम्झौता अनुसार दुबै मुलुकका वायुसेवा कम्पनीले समान संख्यामा उडान गर्न पाउँछन् ।
अब नेपाल र चीनबीच उडानका लागि निश्चित विमानस्थल नतोकी वायुसेवा कम्पनीहरु जुनसुकै विमानस्थलमा जानसक्ने गरी सम्झौताको तयारी गरिएको छ ।
सहसचिव आचार्यका अनुसार नयाँ सम्झौतापछि चीनका वायुसेवा कम्पनी काठमाडौंपछि निर्माणाधीन गौतमबुद्ध र पोखरा विमानस्थलमा जान सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्