जयशङ्कर विदेश मन्त्री नियुक्ति हुँदा नेपालमा टिकाटिप्पणी, पाठ सिकेर अघि बढौंः पूर्व प्रम डा. भट्टराई

जागरण संवाददाता, काठमाडौं, १७ जेष्ठ । भारतमा मन्त्रीमण्डल विस्तार र पूर्वविदेश सचिव एस जयशङ्कर विदेश मन्त्रीको सपथ ग्रहणपछि नेपालमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।
नेपालमा दोस्रो संविधानसभाले संविधान जारी गर्नुअघि भारत सरकारका विशेषदूतको हैसियतमा नेपाल आएका जयशङ्करले संविधान जारी गर्ने मिति पर सार्न सरकारलाई आग्रह गरेको कुरालाई लिएर यहाँ टिकाटिप्पणी हुन थालेको हो ।

संविधान जारी गर्दा तत्कालीन सरकार तथा प्रमुख प्रतिपक्षी दलले भारतीय आग्रहलाई ठाडै अस्वीकार गरि संविधान गरेपछि भारत रुष्ट बनेको छिमेकी मुलुक भारतले नेपालमा करिब ६ महिना अघोषित नाकाबन्दी लगाएको थियो ।


पहिलो पटक नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तकण्ठले प्रशंसा गरेका धेरै नेपालीले अघोषित नाकाबन्दीपछि उनी आलोचित छन् । अझै पनि कतिपयको तत्कालीन विदेश सचिव जयशङ्करलाई अघोषित नाकाबन्दीका योजनाकारमध्येका एक हुन् भन्ने बुझाई छ ।

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै हाम्रा प्रम ओलीले भारतीय प्रम मोदीलाई दिल्लीमा वधाइ दिंदै नेपालको संविधान जारी हुने बेला नेपाल आएर चर्चामा रहेका तत्कालीन भारतीय विदेश सचिव एस जयशंकर अहिले मन्त्री बनेकाले दूई देशबीचको सम्बन्ध आगामी दिनमा कस्तो बन्ला स्वाभाविक जिज्ञासाको विषय भएको र दुवै पक्षले पाठ सिकेर अघि बढौं भनि ट्वीट गरेका छन् ।

त्यस्तै पूर्वराजदूत तथा परराष्ट्रविज्ञ लोकराज बरालले एस् जयशङ्कर मन्त्री भएको विषयलाई नेपालमा आवश्यकताभन्दा बढी नै चासो दिइएको प्रतिक्रिया दिएका छन् । “एस जयशङ्कर विदेशमन्त्री भएमा पनि भारतको अहिलेकै नेपाल नीतिले निरन्तरता पाउँछ र हुने भए पनि अलिअलि परिवर्तन होला जस्तो मलाई लाग्छ । उनले भने, हामी आफ्नो आत्मविश्वास गुमाउने, आफू सक्षम नहुने र अरूका एउटा कर्मचारी परिवर्तन हुँदा, राजदूतले केही बोल्दा पनि चर्चा गर्न थाल्छौँ । ”

भारतीय मामिलाका जानकार पत्रकार युवराज घिमिरे पूर्वविदेश सचिव जयशङ्करलाई नेपालविरोधी व्यक्तिका रूपमा प्रस्तुत गर्नुको कुनै तुक छैन । घिमिरे भन्छन्, “उनी भारत सरकारका विशेषदूतका रूपमा आफूलाई अह्राइएको काम लिएर नेपाल आएका थिए। त्यसैले जयशङ्करलाई नेपालविरोधी व्यक्तिका रूपमा चित्रित गर्नुको अर्थ छैन ।”


को हुन् विदेश मन्त्री एस जयशङ्कर ?
भारतीय विदेश मन्त्री एस जयशङ्करले आफ्ना बुवा सुब्रमण्यमबाट विरासतमा कूटनीतिक दक्षता पाएका हुन् । उनको नाम भारतका प्रमुख रणनीतिक विश्लेषकहरूको पङ्क्तिमा आउँछ । मोदीको नयाँ मन्त्रिमण्डलमा जयशङ्करले विदेशमन्त्रीको जिम्मेवारी पाएका छन् । मोदी नेतृत्वको सरकारले सन् २०१५ मा तत्कालीन विदेश सचिव सुजाता सिंहलाई हटाएर जयशङ्करलाई नियुक्त गरेको थियो । जयशङ्करले राजनीतिशास्त्रमा एमफिल गरेका छन् भने जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्। परमाणु कूटनीतिमा उनको विशेषज्ञता छ । विदेश सेवामा सन् १९७७ को ब्याचका जयशङ्करको पहिलो नियुक्ति रुसस्थित भारतीय दूतावासमा रह्यो । विदेश मन्त्रालयको उपसचिव पद सम्हाल्नुका साथै उनी संयुक्त राज्य अमेरिकाका लागि भारतीय दूतावासका प्रथम सचिव पनि रहिसकेका छन् । त्यसपछि उनले जापान र चेक गणतन्त्रमा भारतीय राजदूत पद सम्हाले। उनी चीनका लागि पनि भारतीय राजदूत रहिसकेका छन्। चीनसँग सम्वादमार्फत् डोकलाम गतिरोध अन्त्य गराउनमा जयशङ्करको ठूलो भूमिका रहेको बताइन्छ।

भारत – अमेरिका गैरसैनिक परमाणु सम्झौता बारेको वार्तामा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। यसै वर्ष उनी पद्मश्री सम्मानबाट पनि सम्मानित भए। मोदी नेतृत्वको मन्त्रिपरिषद्मा जयशङ्कर एक मात्र गैरराजनीतिक व्यक्ति हुन्। बाहिरका मान्छेहरूले सरकारमा जयशङ्करको प्रवेशलाई आश्चर्यका रूपमा लिए पनि उनी मोदी नजिकका पूर्वप्रशासक हुन्। त्यसको पुष्टि यो कुराबाट पनि हुन्छ कि विदेश सचिवका रूपमा सन् २०१७ मै उनको कार्यकाल सकिने भए पनि त्यसलाई सन् २०१८ सम्म बढाइयो। सन् २०१८ सम्ममा लगभग प्रत्येक विदेश भ्रमणमा उनी मोदीको भ्रमण दलमा हुन्थे। सन् २०१८ मा अवकाश पाएपछि एस जयशङ्करले टाटा समूहको विश्व कर्पोरेट मामिलाका अध्यक्षका रूपमा पनि काम गरेका छन् । – एजेन्सिको सहयोगमा

प्रतिक्रिया दिनुहोस्