खुल्यो तातोपानी नाका, चीनबाट सामान बोकेर ४ वटा कन्टेनर आइपुगे, व्यवसायी खुसी

काठमाडौं, जेठ १५ । चार वर्षदेखि भुकम्पका कारण बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आजबाट औपचारिक रुपमा खुलेको छ ।

उत्तरी छिमेकी मुलकु चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा खुलेको हो ।

चीनबाट सामान बोकेर नेपाली कन्टेनर नेपाल आइपुगेका छन् ।

चिनियाँ र नेपाली पक्षले सीमानाकामा आवश्यक पूर्वाधार निर्माण गरेपछि दुबै देशका अधिकारीको उपस्थितिमा नाका पुनः सञ्चालनमा ल्याइएको हो ।

यसैबीच नाका खुलेपछि स्थानीय तथा व्यापारी व्यवसायीहरु खुसी देखिएका छन् । उद्घाटन कार्यक्रम स्थलमा दुवैतर्फका स्थानीयहरु झन्डा बोकेर उपस्थित भएका थिए ।

नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ । वार्षिक रु २० अर्बको आयात र रु तीन अर्ब बढीको निर्यात हुने सो नाका सञ्चालनमा आएपछि स्थानीय व्यवसायीसमेत उत्साहित भएका छन् ।

सो क्रममा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, सो क्षेत्रका सांसद अग्नी सापकोटा, शेरबहादुर तामाङ, उद्योग मन्त्रालयका अधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायतका अधिकारीको सहभागिता रहेको थियो ।

सो क्रममा चीनबाट ऊन बोकेर आएको ४ वटा ट्रकलाई अतिसबाजीसहित रेड कार्पेटमा स्वागत गरेर नेपाल भित्र्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्