प्रदेश प्रमुख र अस्थायी राजधानी साताभित्रै तोक्ने तयारी

काठमाडौं । सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णय यसै साता गर्ने तयारी थालेको छ । प्रमुख र राजधानीको टुंगो नलागेसम्म राष्ट्रियसभा निर्वाचन नै प्रभावित हुने देखिएकापछि सरकारले यसलाई टुंग्याउने तयारी थालेको हो ।

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी भइरहेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले जानकारी दिए । प्रदेश राजधानीको घोषणा र प्रदेश प्रमुखको नियुक्ति सँगै गर्ने तयारी भइरहेको उनले बताए। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रदेश प्रमुख सम्बन्धमा प्रधानमन्त्रीले आन्तरिक छलफल सुरु गरिसक्नुभएकाले अबको दुई–तीन दिनमै निर्णय हुनेछ ।

प्रदेशसभाको अन्तिम चुनावी परिणाम प्रदेश प्रमुखसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनको अध्यादेश प्रमाणीकरण गरेसँगै केन्द्र र प्रदेश सरकार गठन प्रक्रिया अघि बढेको हो । स्रोतका अनुसार विद्यमान कानुनी व्यवस्था र आयोगको आग्रहबीच सरकारले यसै साता प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरेको छ ।

सरकारले २१ वैशाखमा तत्कालीन सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको संयोजकत्वमा संघीय प्रशासनिक पुनःसंरचना समिति गठन गरेको थियो ।

समितिले विभिन्न विकल्पसहितका प्रदेशका अस्थायी केन्द्रहरूसमेत सुझाएको थियो । जसअनुसार प्रदेश १ को विराटनगर, धनकुटा वा इटहरी, २ को जनकपुर, ३ को बनेपा, धुलिखेल, काठमाडौं वा हेटौंडा, ४ को पोखरा, ५ को दाङ वा बुटवल, ६ को सुर्खेत र प्रदेश ७ को दिपायल वा धनगढीलाई अस्थायी राजधानी प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्