इन्फिनिटी लघुवित्त आईपिओ निष्काशन आजदेखि
काठमाडौं, १३ जेष्ठ । विभिन्न लघुवित्त संस्थाहरुले एक पछि अर्काे गर्दै साधारण शेयर निष्काशन गरेको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले पनि आजदेखि सर्वसाधारणको लागि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गरेको छ । संस्थाले १०० रुपैयाँ अंकित दरमा कुल ६ लाख ७४ हजार कित्ता साधारण शेयर जारी गरेको हो ।
संस्थाले ३३ हजार ७ सय कित्ता सामूहिक लगानी कोष र १० हजार ३७० कित्ता कर्मचारीहरुको लागि छुट्ट्याएको छ। पहिलो चरणमा १६ गतेसम्म निष्काशन गर्ने निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ।
सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम ३३ हजार ७० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । मेरो शेयरको खाता भएकाले अनलाइनबाटै आवेदन दिन सक्ने छन् भने नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवदेन दिन सकिनेछ ।
प्राथमिक शेयर निष्काशनसँगै सर्वसाधारण समुह तर्फको शेयर पूँजी ६७.५ प्रतिशत अर्थात १४ करोड रुपैयाँ र सर्वसाधारण समुह तर्फको ३२.५ प्रतिशत अर्थात ६ करोड ७४ लाख रुपैयाँ सहित जम्मा २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।
यो आइपीओले औसत भन्दा तल जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ पाएको छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । इन्फिनिटीको केन्द्रीय कार्यालय गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैडाकोट नगरपालिकामा रहेको छ । हाल यसले विभिन्न जिल्लाहरुमा रहेका ४२ शाखा कार्यालयबाट सेवा प्रदान गरिरहेको छ ।
इन्फिनिटीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । चुक्ता पुँजी १४ करोड रुपैयाँ रहेको इन्फिनिटीको जगेडा कोषमा २ करोड ७१ लाख ६० हजार रुपैयाँ छ । चैत मसान्तसम्म ४५ करोड ६७ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३४ करोड ३५ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २० करोढ ७४ लाख पुग्नेछ ।
इन्फिनिटीले प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको अन्त्यसम्म १८ रुपैयाँ र आगामी वर्ष २७ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । चालु आवको अन्त्यसम्ममा यसको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसा र आगामी वर्ष १२४ रुपैयाँ २९ पैसा पुग्ने प्रक्षेपण छ ।
प्रतिक्रिया दिनुहोस्