प्रदेश १ सरकारले ४६ अर्बको बजेट ल्याउदै
काठमाडौं, जेठ १० । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष ०७६र७७ का लागि ४६ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ ।
चालु आर्थिक वर्षको भन्दा २५ प्रतिशतले वृद्धि गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङम्बोले बताएका छन् ।
मन्त्री आङ्म्बोले भने ‘बजेटको अंक भन्न मिल्दैन, एक मन्त्रालयदेखि अर्को मन्त्रालयलाई पनि बजेटको अंकको बारेमा जानकारी हुँदैन,’ ‘चालु आर्थिक वर्षको बजेटको आकारमा कम्तिमा पनि २५ प्रतिश बजेटको आकार बढनेछ, करिब र करिब बजेटको आकार ४५/४६ अर्ब भित्र समेटिनेछ ।’
मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको बजेटको सबै भन्दा ठूलो अंश ४५ प्रतिशत भौतिक पूर्वाधारलाई समेटिएको छ ।
बजेटमा कृषिको आधुनिकीकरणलाई पनि महत्व दिएको छ । चालु आर्थिक वर्षको बजेटमा पनि ४५ प्रतिशत बजेटको हिस्सा पूर्वाधारमै छुट्याइएको थियो ।
प्रादेशिक योजना आयोगले भने आगामी आर्थिक वर्षको बजेट ५५ अर्बको हाराहारीमा ल्याउन मन्त्रालयलाई सिफारिस गरेको छ ।
मन्त्री आङम्बोले आगामी असार १ गते प्रस्तुत गरिने बजेटको नीतिगत पक्षमा छलफल भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्