कालिका र जनसेवीले गरे मर्जर सम्झौता
काठमाडौं, ६ जेठ । लघुवित्त संख्या धेरै भएको भनि राष्ट्र बैंकका अधिकारीहरुले बिभिन्न कार्यक्रममा प्रश्न उठाई रहेको पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु धमाधम मर्ज हुन थालेका छन् । लघुवित्तको संस्था अधिक भएको भन्दै नेपाल राष्ट्र बैंकले बाध्यकारी मर्जर नीति ल्याउनु पूर्व नै लघुवित्त वित्तीय संस्थाहरु आफैं मर्जरमा जान थालेका हुन् ।
लघुवित्त वित्तीय संस्थाहरुले स्वतस्फुर्त रुपमा मर्जरमा जाने सहमति गर्न थालेका छन् । गत ३१ गते मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्था, नागबेली लघुवित्त वित्तीय संस्था र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले एक आपसमा मर्जरमा जाने सम्झौता गरेका थिए । फेरी दुई लघुवित्त वित्तीय संस्थाहरुले मर्जरमा जाने सम्झौता गरेका छन् ।
एक साता अघिमात्रै माइक्रोफाइनान्समा अब्बल रहेका तीन वित्तिय संस्थाले मर्जरको संझौता गरे लगतै आइतबार पुनः कालिका लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
स्याङ्जाको वालिङ केन्द्रीय कार्यालय रहेको कालिका राष्ट्रियस्तरको लघुवित्त हो भने पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्था १० जिल्ला कार्यक्षेत्र रहेको लघुवित्त संस्था हो ।
आइतबार आयोजित एक समारोहकाबीच कालिकाका तर्फबाट सञ्चालक समिति अध्यक्ष कृष्ण खाँण र जनसेवीकातर्फबाट सञ्चालक समिति अध्यक्ष विकास गौचनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कालिकाको चुक्ता पुँजी हाल १० करोड ८० लाख रुपैयाँ रहेको छ । ३०९ जना कर्मचारीहरु कार्यरत, ७० वटा शाखा तथा ३९ हजार सदस्य रहेको छन् । त्यस्तै १० जिल्ला कार्यक्षेत्र रहेको जनसेवीको ९ करोड ८० लाख चुक्ता पुँजी रहेको छ । ११३ जना कर्मचारी कार्यरत रहेका छन् । २५ शाखा कार्यालय मार्फत १५ हजार सदस्यलाई सेवा दिदै आएको छ ।
मर्जरपछि बन्ने संस्थाको नाम जनकालिका लघुवित्त वित्तीय संस्था हुने गरी सम्झौता गरिएको बताइएको छ । संस्थाको केन्द्रीय कार्यालय भने पोखरामा राखिने भएको छ । मर्जर पछि बन्ने संस्थाको अध्यक्षमा हाल कालिकाको सञ्चालक समिति अध्यक्ष रहेका खाँण नै हुनेछन् । संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पनि कालिकाका सीईओ मीनबहादुर बोहरालाई निरन्तरता पाउने र नायव प्रमुख कार्यकारी अधिकृतमा भने जनसेवीका प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्री हुने गरी सम्झौता भएको छ ।
प्रतिक्रिया दिनुहोस्