गाउँपालिको अध्यक्षको घरमा बम विष्फोट, कसले लियो जिम्मा ?

सप्तरी, ४ जेष्ठ । सप्तरीको बलान विहुल गाउँपालिको अध्यक्षको घरमा गएराति बम विष्फोट भएको छ । बलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा मध्येराततीर अज्ञात समूहले बम विष्फोट गराएका हो ।

अज्ञात समुहले प्रतिक्षालायमा राखेको प्रेसर कुकर बम राति करिब १ बजे विष्फोट भएको प्रहरी सप्तरीले जनाएको छ । बमको छर्राले लागेर नजिकै गोठमा सुतेका गोइतका काका ६२ वर्षीय श्यामानन्द गोइत सामान्य घाइते भएका छन्।

उनको दायाँ खुट्टामा सामान्य चोट लागेको छ । विष्फोटका कारण प्रतिक्षालयको पर्खाल तथा टेवुल कुर्षि क्षति भएको अध्यक्ष गोइतले जानकारी दिए ।

वम विष्फोटको जानकारीपछि डिएसपी भावेश रिमाल नेतृत्वको टोली राति नै घटनास्थल पुगेको थियो । संलग्नको खोजी भइरहेको एसपी राजेन्द्र विष्टले जानकारी दिए।

बम विष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतद्वारा हस्ताक्षरित विज्ञप्तिमा गाउँपालिकाका अध्यक्ष गोइत भ्रष्टाचारमा संलग्न भएकोले कारबाही स्वरुप बम विष्फोट गराइएको जनाएको छ ।

भ्रष्टाचारलाई निरन्तरता दिइरहे अझ उच्च तहको कारवाही गरिने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार अध्यक्ष स्वयम् नै हुने विज्ञप्ति मार्फत चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्