प्राइमसँग भाँडिएपछि एनएमबि बैंकले ओम बैंकलाई प्राप्ती गर्दै

काठमाडौं, २ जेष्ठ । एनएमबि बैंक लि.ले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको छ । यसअघि प्राइम कमर्सियल बैंकसँग एक्विजिशन प्रकृयामा अगाडि बढाएको ओमलाई प्राइमसँग सम्झौता भाँडिएपश्चात एनएमबि बैंकले प्राप्ती गर्ने भएको हो ।

जेठ २ गते बिहिबार दिउँसो होटेल अन्नपूर्णमा दुई बैंकबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ ।

दुबै बैंकबीच तीन महिना भित्र मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार सुरु गर्नेमा सहमत औपचारिक सहमती भएको छ । प्राइमसँग सम्झौता भाँडिएपश्चात राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिनाभित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो । तर हाल स्वाप रेसियोको टुङ्गो भने सकेको छैन ।

ओम डेभलपमेन्ट बैंकले मागेको १००ः ८० को स्वाप रेसियोमा मोटामोटी सम्झौता भएको र दुबै बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन ( डिडिए) पश्चात आउने नतिजा अनुसार १० अंक थपघट हुनसक्ने गरि दुबै बैंकबीच सम्झौता भएको छ ।

प्राइम बैंकसँग एक्वीजिशनमा बोनस घोषणाले उत्पन्न गराएको दरार कर्मचारी समायोजनमा कुरा नमिलेपछि प्रक्रिया भाँडिएको थियो । एनएमबि बैंकको व्यवस्थापनले प्राइमको समस्या नदोहोरिने आवश्वाशन दिएपछि ओम एनएमबि बैंकमा विलिन हुन राजी भएको हो ।

हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रहेको छ भने पोखरामा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड रहेको छ । एकीकृत बैंकको चुक्ता पूँजी साढे ११ अर्ब माथि पुग्नेछ ।

मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत हालका एनएमबी बैंकका सीइओ सुनिल केसी र ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी डेपुटी सीइओमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्