अमेरिकी राष्ट्रपति ट्रम्पले कम्प्युटर नेटवर्कलाई जोगाउन राष्ट्रिय आपतकालको घोषणा गरे

काठमाडौंं , २ जेष्ठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कम्प्युटर नेटवर्कलाई विदेशी विरोधीबाट जोगाउन राष्ट्रिय आपतकालको घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको खतरालाई ध्यानमा राख्दै एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्, जुन आदेशमा अमेरिकी कम्पनीहरुलाई विदेशी दूरसञ्चार सेवाको उपयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

आदेशमा कुनै पनि कम्पनीको नाम उल्लेख नगरिएको भए पनि यो आदेशले चीनको बहुराष्ट्रिय दूरसञ्चार उपकरण र उपभोक्ता इलेक्ट्रोनिक्स निर्माता कम्पनी हुवावेलाई लक्षित गरेको बताइएको छ ।

यद्दपी हुवावेले भने अमेरिकामा आफ्नो व्यापार बन्द गर्दा अमेरिकी उपभोक्ता र कम्पनीलाई आघात पुग्ने बताएको छ ।

अमेरिकाको नेतृत्वमा अन्य धेरै देशहरुले पछिल्लो केही महिनादेखि हुवावेको उत्पादन चीनले निगरानीको लागि प्रयोग गरिरहेको आरोप लगाउँदै आएका छन् ।

अमेरिकाले आफ्ना सङ्घीय निकायहरूलाई हुवावेको उत्पादन प्रयोग गर्नबाट बर्जित गरेको छ। अमेरिकाले आफ्ना सहयोगीमाथि पनि हुवावेको फाइभ जी नेटवर्कको सेवाबाट टाढा बस्न दबाब दिँदै आइरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्