मेलम्ची खानेपानीको काम तत्काल अघि बढाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं, १ जेष्ठ । संसदीय समितिले जनताको जीवनसंग जोडिएको मेलम्ची खानेपानी आयोजनाको बाँकि काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

संसदको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

काठमाडौं उपत्यकाबासीको प्रत्यक्ष जीवनस्तरसंग जोडिएको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई तत्काल अघि बढाउन सरकारलाई पुनः निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् । त्यसैगरी समितिले सरकारको नीति तथा कार्यक्रम अनुसारनै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न/गराउन पनि खानेपानी मन्त्रालयलाई सचेत गराएको छ ।

समितिले राष्ट्रिय खानेपानी तथा सरसफाइ नीति र सो सम्बन्धी ऐन शीघ्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी स्वच्छ खानेपानी वितरण प्रणालीलाई व्यवस्थित बनाउन, भूकम्पले क्षति पु¥याएका खानेपानी आयोजनाहरु छिटो सञ्चालनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति खड्काले जानकारी दिइन् ।

बैठकमा खानेपानी मन्त्री विना मगरले क्याविनेटमा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन् । उनले स्वच्छ खानेपानीको अभाव हुन नदिने गरी सरकारले आवश्यक कामकार्वाहीलाई अघि बढाइएको दावी पनि गरिन् ।

इटालियन कम्पनी सिएमसीले मेलम्ची खानेपानीको बाँकी काम अलपत्र छोडेर हिँडेपछि त्यसलाई अघि बढाउन नसकेको भन्दै मन्त्री मगरको आलोचना भइरहेको बेला अर्काे ठेकेदारलाई जिम्मेवारी दिई काम अगाडि बढाउने तयारी भइरहको उनले प्रष्ट्याइन ।

प्रतिक्रिया दिनुहोस्