विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले उत्पादन सुरु गर्याे, अन्य स्थानको पनि अन्तिम अवस्थामा
काठमाडौं, १ जेठ । मुलुककै पहिलो विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापना गरिएको पहिलो शक्ति मिनरल्स प्रालिले उत्पादन सुरु गरेको छ । यसको उद्घाटन उद्योग मन्त्री मातृका यादवले गरेका छन् । भैरहवास्थित सेजमा स्थापना गरिएको पहिलो उद्योगका रूपमा स्थापना भएको शक्ति मिनरल्स प्रालिले उत्पादन सुरु गरेको हो । यो उद्योगले भैरहवा सेजमा गत असारमा उद्योग स्थापनाको काम सुरु गरेको थियो । तोकिएको समयभित्रै उत्पादन सुरु भएको र हाल परीक्षणको रूपमा उत्पादन भइरहेको र छिटै सेज ऐनमा तोकिएअनुसार निर्यात गर्ने कम्पनीका सञ्चालक एवं अध्यक्ष विनोदकुमार श्रेष्ठले बताएका छन्।
“अहिले परीक्षण उत्पादन भइरहेको छ, अब उत्पत्तिको प्रमाणपत्र प्राप्ती र अन्य प्रशासनिक प्रक्रिया छिटै सम्पन्न गरेर असारभित्रै हाम्रा उत्पादन भारत निर्यात गर्नेछौं,” अध्यक्ष श्रेष्ठले भने, “यो उद्योग खनिज उत्खनन तथा अन्वेषणमा आधारित उद्योग हो र यसले खनिज पदार्थ, चुनढुंगा, डोलामाइट प्रशोधन गरी पाउडर र फ्ल्क्स(टुक्रा) उत्पादन गर्छ ।”
उद्योगबाट उत्पादित माइलस्टोन र डोलामाइट पाउडर र फ्ल्क्सका टुक्रा गरी वार्षिक १ अर्ब रुपैयाँ बराबरका उत्पादन भारत निर्यात गर्ने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए । यस्तै उद्योगका कारण वार्षिक २० करोड बराबरको आयात प्रतिस्थापन हुने पनि उनले जानकारी बताए। भारतमा लाइमस्टोन र डोलामाइटको पाउडर तथा फ्ल्क्सहरू फलाम बनाउन ९छड, स्टिल बनाउने प्राइम ब्लेड०का रूपमा प्रयोग हुन्छ । भारतले पनि टर्की, इरान, मलेसियालगायतका मुलुकबाट यस्ता समान आयात गर्छ । छिमेकी देशमा उत्पादित बस्तु भारतीय उद्योगलाई सस्तो र दूरीको हिसाबले नजिक पनि पर्ने भएकाले बजार राम्रो हुने अपेक्षा रहेको श्रेष्ठले बताए ।
उद्योगको उत्पादनमध्ये ६० प्रतिशत भारत अथवा तेश्रो मुलुकमा निर्यात गर्नुपर्नेछ भने ४० प्रतिशत स्वदेशमै बिक्री गर्न पाउनेछन् । उद्योगबाट प्रतक्ष रूपमा १३० जनाले रोजगारी पाएका छन् । उद्योग पूर्णतः कम्प्युटरकृत छ । उद्योगको मुख्य कच्चा पदार्थ चुन ढुंगाको खानी भने पाल्पा जिल्लामा रहेको छ ।
भैरहवा सेजमा उद्योग स्थापनाका लागि निवेदन दिएकामध्ये अन्य १० वटाले उद्योग स्थापनाका लागि आवश्यक काम सुरु गरीसकेको र बाँकी ९ वटा उद्योग पनि नक्साकंनलगायत प्रशासनिक काममा रहेको सेज प्राधिकरणका निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए। अन्य १० उद्योगका लागि साउनसम्मको म्याद दिइएको छ ।
भैरहवा सेजमा स्थापित पहिलो उद्योगको शुभारम्भ उद्योगमन्त्री मातृका यादवले गरेका छन् । मंगलबार भैरहवा सेजमा उनले उद्योग शुभारम्भ गर्दै सेजमा स्थापित उद्योगहरूका कारण हालको व्यापारघाटा नियन्त्रणमा सघाउ पुग्ने उनले बताए ।प्राधिकरणले तीन विशेष आर्थिक क्षेत्र निर्माण अन्तिम चरणमा पुर्याएको छ । प्राधिकरणले सिमरा, पाँचखाल र भैरहवा सेजमा उद्योग निर्माण प्रक्रिया अघि बढाइसकेको छ ।
त्यस्तै १ सय ६० बिघा क्षेत्रमा फैलिएको सिमरा सेजमा गार्मेन्ट उद्योग स्थापना सुरु भइसकेको छ । उद्योग स्थापनाका लागि प्राधिकरणले सूचना समेत जारी गरिसकेको छ । यो क्षेत्रमा धेरै लगानी गर्ने १९ उद्योगीलाई प्राथमिकतामा राखेको छ । प्राधिकरणले यो क्षेत्रमा २० रुपैंया प्रति वर्गमिटर जग्गा भाडामा लगाउने तयारी गरेको छ ।
एक अर्ब लागतमा निर्माण सम्पन्न भएको भैरहवा आर्थिक क्षेत्रमा २२ वटा उद्योग स्थापना भैसकेका छन्। १ हजार रोपनी क्षेत्रफलमा निर्माण भैरहेको पाँचखाल आर्थिक क्षेत्र निर्माण अन्तिम चरणमा रहेको र यसमा चार अर्ब लगानी हुने भट्टले जानकारी दिए ।
थप पाँच स्थानमा विशेष आर्थिक क्षेत्र(सेज) ले तराईको सप्तरी, सर्लाही, महोत्तरी, रौतहट र बर्दिया जिल्लामा सेज स्थापना निर्माणका लागि अध्ययन सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्