बर्ड फ्लूको हल्लापछि पोल्ट्री व्यवसायी अन्यौलमा, ३० प्रतिशत बिक्रि घट्यो
काठमाडौं , ३१ बैशाख । बर्ड फ्लूबाट मानिसको मृत्यु भएको हल्लापछि ३० प्रतिशतले मासुको बिक्रि घटेको पोल्ट्री व्यवसायीहरुले बताएका छन् । यसले गर्दा हजारौं साना÷ठूला लगानीकर्ता यतिबेला अन्यौलमा परेका छन् । बर्ड फ्लूको हल्ला, अण्डा र मासुको बिक्रिमा समस्या आएपछि चल्ला हाल्ने वा नहाल्ने अन्यौलमा परेको हो ।
बर्ड फ्लूको कारण पहिलोपटक नेपालमै एक व्यक्तिको मृत्यु भएको सरकारले नै पुष्टि गरेपछि कुखुराको मासु र अण्डा बिक्रिमा समस्या आएको हो । यसले गर्दा रोग संक्रमणको डरले उपभोक्ताहरुले मासु तथा अण्डा खान डराएपछि साना र मझौला एवं ठूला व्यावसायी यस क्षेत्रमा थप लगानीका गर्न हच्किएका हुन् ।
बर्ड फ्लू के हो ?
एच फाइभ एन वान (बर्ड फ्लू) एक प्रकारको संक्रामक भाइरस हो । यस संक्रमणबाट चराचुरुङ्गीमा श्वासप्रश्वास गर्न कठिन हुन्छ । यो संक्रमण कहिलेकाहीँ मानिसमा पनि सर्छ ।
मानिसबाट मानिसमा यो रोग सर्दैन । तर, संक्रमणले गुण बदल्न सक्ने हुनाले कारणबस मानिसबाट मानिसमा सर्ने अवस्था आएको खण्डमा भयानक महामारीको रुप लिन सक्छ ।
उच्च ज्वरो आउनु, खोकी लाग्नु, पेट, घाँटी, छाती तथा मांसपेशीहरु दुख्नु तथा पखाला लाग्नु र श्वासप्रश्वासमा समस्या आउनु यसका मुख्य लक्षण हुन् । एच फाइभ एन वान (बर्ड फ्लू) संक्रमण भएका बिरामीको मृत्युदर ६० प्रतिशत हुन्छ । संक्रमण गम्भिर हुने भएकाले बिरामीलाई तत्कालै सुविधासम्पन्न अस्पतालमा उच्च निगरानीमा उपचार गर्नु पर्छ ।
इन्टीभाइरल औषधिले गम्भीरता र मृत्यु घटाउन सहयोग गरेपनि संक्रमणविरुद्ध खोप व्यापक उपयोगका लागि तयार छैन ।
बर्ड फ्लूपछि त्रास बढ्यो ः
१ चैतमा एक जना २१ वर्षीय किशोर ज्वरो र खोकीको लक्षणसहित अस्पताल भर्ना भएका थिए । नाम ठेगाना नखुलाइएका युवकलाई इन्फ्लुएन्जाको संक्रमण भएको शंका गरी चिकित्सकले घाँटीर्को याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाए । तर पुष्टि हुन नसकेपर्छि यालको नमूना जापान पठाइएको थियो । त्यसको रिपोर्ट नआउँदै चैत १५ गते श्वासप्रश्वासमा समस्या आई युवकको मृत्यु भयो ।
उनी एच फाइभ एन वान (बर्ड फ्लू) का कारण ज्यान गुमाउने पहिलो नेपाली हुन् । बर्ड फ्लूको कारण मानिसले ज्यान गुमाएको सर्वत्र चर्चा भए पनि ती युवकलाई कसरी बर्ड फ्लू संक्रमण भयो भन्ने यकिन विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेन ।
कुखुरा, हाँसको मासु र अण्डा खाएर हो या संक्रमित पंक्षीको सम्पर्कबाट उनलाई बर्ड फ्लू संक्रमण भयो सार्वजनिक गरिएन । तर, बर्ड फ्लूबाट मृत्यु भएको खबरले चर्चा पायो, जसको सीधा असर १ खर्ब लगानीको पोल्ट्री व्यवसायमा परेको छ ।
मासु तथा अण्डा खाँदा यो रोग सर्छ ?
एक महिनाअघि बर्ड फ्लूको संक्रमण देशका बिभिन्न भागमा देखिए पनि अहिले पूर्ण नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयमा प्रवक्ता एवं प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र प्रसाद श्रेष्ठले बताए । बर्ड फ्लूकै कारण कुखुरा र हाँसको मासु तथा अण्डा प्रयोग गर्न कुनै समस्या नरहेको उनको भनाइ छ ।
बर्ड फ्लूको संक्रमणलगत्तै सरकारले देशभरमा करिब १० लाख कुखुरा नष्ट गरेको र अहिले देशका कुनै पनि भागमा यस्ता संक्रमण नरहेको श्रेष्ठले प्रष्ट पारे । बर्ड फ्लूका कारण ज्यान गुमाएका युवकलाई भएको संक्रमणबारे अनुसन्धान जारी रहेको भन्दै उनले मासु र अण्डा प्रयोगमा निर्धक्क बन्न आग्रह गरे ।
‘स्वस्थ पंक्षीसँगको सम्पर्क वा उनीहरुबाट उत्पादन गरिएको मासु वा अण्डालाई राम्ररी पकाएर खाँदा रोगको जोखिम हुँदैन,’ उनले भने ।
बर्ड फ्लु मासुको खपत घट्योः
सामान्य अवस्थामा भन्दा बर्ड फ्लूबाट मानिसको मृत्यु भएको हल्लापछि ३० प्रतिशतले मासुको खपत घटेको भ्याली कोल्ड स्टोरका सञ्चालक श्रीकृष्ण घिमिरेले बताए । नेपालको ठूलो कुखुरा सप्लायर्स मध्येको एक भ्याली कोल्ड स्टोर एक हो । सञ्चालक घिमिरेका अनुसार बर्ड फ्लूको समाचारपछि मासु र अण्डा किन्ने ग्राहक निकै घटेका छन् ।
व्यवसायीहरु थप चल्ला पाल्ने कि नपाल्ने भन्ने दोधारमा रहँदा कुखुराको चल्लाको मूल्यमा पनि भारी ह्रास आएको उनको भनाई छ । अरुबेला ८५ रुपैयाँ पर्ने कुखुराको चल्ला अहिले ३० रुपैयाँमा झरेको छ । तत्काल कुखुराको मासुको मूल्यमा ह्रास नआए पनि ग्राहकमा त्रास र व्यवसायीमा जोखिम लिन नचाहने प्रवृत्तिले यो व्यवसाय धरासायी हुनसक्ने उनको तर्क छ ।
अण्डाको मूल्यमा भारी गिरावट
नेपालमा सरदर दैनिक २६ देखि २७ लाख अण्डा उत्पादन हुने नेपाल अण्डा उत्पादक संघका निवर्तमान अध्यक्ष शिवराम केसी बताउँछन् ।
प्रतिगोटा १३ रुपैयाँमा बिक्री भइरहेको अण्डा बर्ड फ्लूको हल्लाले यतिबेला ६ रुपैयाँ १५ पैसामा झरेको उनले जानकारी दिए ।
अण्डा र कुखुराको मासु उत्पादनमा नेपाल आत्मनिर्भर मात्रै होइन, निर्यात गर्ने क्षमतामै रहेको व्यवसायीको भनाइ छ । तर राज्य र विषय विज्ञले उचित सहयोग नगर्दा हल्लैहल्लाले व्यवसायको जोखिम बढेको उनीहरु बताउँछन् । जनतालाई सही र पूर्ण सूचना दिन सरकार पनि चुकेको छ । बर्ड फ्लुले एक व्यक्तिको मृत्यु भएको जानकारी दिएर सरकार चुप छ ।
फर्ममा काम गर्ने वा मासु, अण्डा बिक्रेता कसैलाई पनि हालसम्म नेपालमा बर्ड फ्लूको संक्रमण नदेखिएको व्यवसायीले बताएका छन् । बर्ड फ्लूका कारण निधन भएका व्यक्तिमा बर्ड फ्लू कुन पंक्षीबाट कसरी सर्यो भन्ने तथ्य सार्वजनिक नगरिएकोमा भ्याली कोल्ड स्टोरका सञ्चालक घिमिरे आपत्ति जनाए ।
अन्य पंक्षीबाट पनि सर्न सक्ने रोगको जोखिम कुखुरा तथा अण्डासँग मात्र जोडेर अनर्गल प्रचार गरिएको भन्दै उनले पोल्ट्री व्यवसाय बचाउन सरकार गम्भिर हुनुपर्ने बताए । ‘सानादेखि करोडौं लगानी गरेका व्यवसायीले जैविक विधिद्वारा आफ्नो उत्पादन स्वस्थ बनाउन हरदम प्रयास गरे पनि हल्लाले गर्दा मनोबल खस्किएको उनको भनाई छ ।
नेपाल अण्डा उत्पादक संघका निवर्तमान अध्यक्ष शिवराम केसी ८० अर्बदेखि १ खर्बको हाराहारीको व्यवसाय सुरक्षामा कसैले चासो नदिएको बताउँछन् । तथ्यभन्दा पनि तर्क र हल्लाले बजार बिग्रिएको उनको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्