कोरा अर्थशास्त्रले मात्रै मुलुक बन्दैन ! सिद्धान्तलाई व्यवहारिक ढंगले कार्यान्वयनमा लैजानु पर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, बैशाख ३० । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कोरा अर्थशास्त्रले मात्रै मुलुक नबन्ने भएकाले सिद्धान्तलाई व्यवहारिक ढंगले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभा सदस्यहरुबाट आएका रचनात्मक सुझावलाई बजेट निर्माणका क्रममा आधार बनाइने उनले विश्वास दिलाए ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा आगामी बर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले उपयुक्त सुझावहरुलाई बजेट निर्माणको आधार बनाउने बताएका हुन् ।

स्थानीय पूर्वाधार विकासका सन्र्दभमा उठेका जिज्ञासाहरुलाई मनन गरिएको भन्दै मिलाउन सक्ने विषयलाई विधिवत ढंगले समावेश गरिने बताए । विकृति हटाउने नाममा राम्रो प्रणाली फाल्न नहुने भन्दै उनले सामुहिक प्रणालीमा देखिएका समस्या समाधान गर्दै वित्तिय प्रणालीलाई विकास गर्दै लैजानुपर्ने बताए ।

छोटो अवधिमा वित्तिय संघीयता कार्यान्वयन गर्ने तथा स्रोतको बाँडफाँडको विषयमा अधिकांश कुराहरु भएको र आवश्यक कानुनहरु बनेको भन्दै उनले वित्तिय संघीयता कार्यान्वयन पूर्ण नभएपछि उल्लेख्य मात्रामा अघि बढेको स्पष्ट पारे ।

संघीयता कार्यान्वयनमा सरकार अघि बढ्ने भन्दै त्यसमा कुनै पनि प्रकारको शंका नगर्न पनि उनले आग्रह गरे । संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र परिपूरक भूमिका अनुसार नै आर्थिक र राज्य प्रणाली सञ्चालन हुनेमा उनले विश्वस्त पारे ।

उनले नेपालको विकासमा सहयोग गर्ने अन्तर्रा्ष्ट्रिय निकायको भूमिकालाई पनि विर्सजन नहुने भन्दै अन्तरसम्बन्धित रहेर चनाखो भई सोही आधारमा बजेटका सिद्धान्त र प्राथमिकता तय गरिनुपर्ने बताए ।


राष्ट्रिय पूँजी निर्माण नगरी राष्ट्रिय सवल अर्थतन्त्र निर्माण नहुने भएकाले राष्ट्रिय बचत गर्ने क्षमता र राष्ट्रिय उत्पादनलाई परिचालन गर्ने क्षमता वृद्धि गरि न्यायिक समाज र सवल अर्थतन्त्र निर्माण गर्दै जानुपर्ने सोच अनुसारको सिद्धान्त र प्राथमिकतामा बजेट अघि बढ्ने स्पष्ट पारे ।


उनले क्षेत्रगत भन्दा पनि नीतिगत, कार्यक्रमिक, परियोजना र आयोजनागत प्राथमिकताका आधारमा बजेटका प्राथमिकताहरु तय हुने बताए । साधन स्रोत तथा राजश्वको बाँडफाँड लगायतलाई मानव विकास सुचाङ्क लगायतका आधारमा क्षेत्रीय सन्तुलन कायम गर्नेतर्फ सरकार गम्भीर रहेको बताए ।

उनले वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन, बचत र आफ्नै राष्ट्रिय पूँजीबाट सञ्चालित हुने अर्थ प्रणालीतर्फ लैजान सके आयातमुखी भनिएको अर्थतन्त्रमा सुधार आउने भएकाले यसलाई प्राथमिकता दिइने बताए ।

अब राष्ट्रियसभाको अर्को बैठक मंगलबार दिउसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्