साझाका २० नयाँ बस काठमाडौं आइपुगे, कुन – कुन रुटमा चल्ने भए ?

काठमाडौं , बैशाख २७ । साझा यातायातले किनेका थप २० वटा बस काठमाडौं आइपुगेका छन् ।

साझा यातायातसहित काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा यी बस ल्याइएका हुन् । काठमाडौं आइपुगेका नयाँ बस केही हप्ताभित्रै काठमाडौंमा चल्न सुरु गर्ने साझा यातायातले जनाएको छ ।

साझाका अनुसार काठमाडौंको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप २० ठूला बस ल्याएको हो ।

यी बस किन्न काठमाडौं महानगरपालिकाले साझालाई नयाँ बस किन्ने गरी ५ करोड रुपैयाँ दिएको थियो भने ललितपुर महानगरपालिकाले पनि एक करोड सेयर लगानी गरेको छ ।

साझाका कार्यकारी निर्देशक भुषण तुलाधरले अब कम्पनीबाट हस्तान्तरणसहित रुट लिने प्रक्रिया अघि बढ्ने बताए ।

कार्यकारी निर्देशक तुलाधरले हाल चलिरहेकै रुटमा बस थप्न प्राथमिकता दिने बताउदै आवश्यक देखिए केही नयाँ रुटमा पनि सेवा थाल्ने उनको भनाइ छ ।

जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयर समेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ ।

लामो समय बन्द रहेर २०७० साल वैशाखदेखि पुनः सञ्चालनमा आएको साझा यातायातले निकट भविष्यमा नै विद्युतीय बस पनि ल्याउने योजना बनाएको छ । यो वर्ष काठमाडौं महानगरपालिकाले साझामार्फत १० करोड खर्चे विद्युतीय बस ल्याउने योजना बनाएको छ ।

यस्तै ३ नम्बर प्रदेशको सरकारले साझा यातायातसँग ३० करोड रुपैयाँ बराबरको शेयर किन्ने तय गरिसकेको छ । यो रकमबाट साझाले प्रदेशका पाँच शहरमा विद्युतीय बस चलाउनेछ ।

प्रदेश ३ को सरकारले २०८५ सालभित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ ।

यही नीति कार्यान्वयन गर्न चालू आवमा साझाबाटै शेयर खरिद गर्न लागिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्