आगामी वर्षको बजेटमा रोजगारी सिर्जना सरकारको प्राथमिकतामा !

काठमाण्डौ , बैशाख २७ । सरकारले आगामी आर्थिक वर्षको बजेट रोजगारी सिर्जना गर्नमा केन्द्रित हुने बताएको छ ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले रोजगारी सिर्जनालाई सरकारले प्राथमिकता दिने बताएका हुन् ।

यसका लागि सरकारले स्वरोजगारलाई प्रोत्साहन दिने बताएको छ । जसका लागि सीपमूलक तालिम, सहज रुपमा कर्जा लिन सक्ने व्यवस्था र उद्यमशिलताको विकास गर्ने उहाँले बताए ।

यस्तै सरकारले आउँदो आर्थिक वर्षको बजेटलाई श्रम गर्न योग्य सबै नागरिकलाई उत्पादनसँग जोड्दै निर्माण, उत्पादनमूलक उद्योग र सेवा लगायतका क्षेत्रमा काम र रोजगारको अवसर सिर्जना गर्नमा केन्द्रित गरिने पनि बताएको छ ।

आउँदो ५ वर्ष्भित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्ने घोषणा गरेको सरकारले युवाका लागि सीप, उद्यम र रोजगारी सिर्जना गर्ने नीति लिने अर्थमन्त्री डाक्टर खतिवडाको भनाई छ ।

आगामी आर्थिक वर्षलाई युवा परिचालनको वर्षको रुपमा लिइने भन्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले महिला सशक्तिकरण कार्यक्रम मार्फत उद्यमशीलताको विकास र रोजगारीको सिर्जनामा जोड दिइने जानकारी गराए ।

उनले वैदेशिक रोजगारीलाई सरकारले अझै व्यवस्थित गर्ने पनि बताउनुभयो । यस्तै सरकारले सामाजिक सुरक्षालाई पनि आगामी वर्षको बजेटमा प्राथमिकता दिने भएको छ ।

सरकारले सबै नागरिकलाई सामाजिक सुरक्षामा ल्याउने गरी बजेट तर्जुमा गर्ने बताएका हुन् । उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन गरिने पनि बताए ।

श्रम ऐनमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै असल तथा उत्पादनमूलक श्रम सम्वन्ध विकास गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्