चालू आर्थिक वर्षको ९ महिनामै ९ खर्ब ९१ अर्बको भयो व्यापार घाटा

काठमाडौं, वैशाख २६ । चालू आर्थिक वर्षको ९ महिनामामात्रै ९ खर्ब ९१ अर्बको व्यापार घाटा भएको छ ।

यो अवधिमा १० खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात केबल ६९ अर्ब ८२ करोडको भएको छ ।

यस अवधिमा व्यापार घाटा अघिल्लो वर्षको तुलनामा करिब २२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा ८ खर्ब ७२ अर्ब रहेको थियो ।

यस अवधिमा सबैभन्दा धेरै इन्धन एक खर्ब ८२ अर्ब रुपैयाँ बराबरको आयात भएको छ भने स्टिल तथा फलामजन्य वस्तुको आयातमा एक खर्ब ८ अर्ब खर्चिनुपरेको छ ।

त्यसैगरी, मेसिनरी वस्तुहरु ८९ अर्बको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

सवारी–साधन ६९ अर्ब ८० करोड, ६५ अर्ब ७१ करोड रुपैयाँ बराबरको इलेक्ट्रिक वस्तुहरु आयात गरिएको छ ।

यस अवधिमा निर्यातमा कमी र आयातमा वृद्धि भएकाले व्यापार घाटा बढ्न गएको छ ।

यस अवधिमा तरकारी तथा पशुपक्षीजन्य वस्तुहरु ७ अर्ब ३४ करोडको निर्यात भएको छ भने ७ अर्ब २४ करोड रुपैयाँको उनी धागो निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

समीक्षा अवधिमा कार्पेट ५ अर्ब ७५ करोडको, चिया तथा कफी ५ अर्ब ६८ करोड, फलाम तथा स्टिलजन्य वस्तुहरु ४ अर्ब ९६ करोड रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ ।

नेपालमा सबैभन्दा बढी वस्तु भारतबाट आयात हुने गर्छ भने दोस्रोमा अन्य मुलुकबाट र तेस्रोमा चीनबाट वस्तुहरु आयात हुने गर्छ ।

चालू आर्थिक वर्षको ९ महिनामा भारतबाटमात्रै ६४ प्रतिशत अर्थात् ६ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्