राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा छुट तथा पुनः जाँच सर्वेक्षणको समयसीमा फेरि थप: कहिले सम्म ?

काठमाण्डौ , बैशाख २६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनः जाँच सर्वेक्षणको समयसीमा फेरि थप गरेको छ ।

प्राधिकरणको छुट तथा पुनः जाँच सर्वेक्षण सञ्चालन समितिको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षणको समय जेठ मसान्तसम्म थप गरेको हो ।
यसअघि गएको चैत १५ गतेबाट सुरु भएको छुट तथा पुनः जाँच सर्वेक्षणको काम वैशाख मसान्तसम्म सक्ने भनिएको थियो ।

तर पुनर्निर्माणको काममा खटिएका प्राविधिकको आन्दोलनका कारण काम प्रभावित भएपछि एक महिना समय थप गरिएको प्राधिकरणका उपसचिव एवं सहप्रवक्ता मनोहर घिमिरले जानकारी दिए ।

चैत १५ देखि अहिलेसम्म झण्डै ६ हजार गुनासोकर्ताले गुनासो दर्ता गराएका छन् । साथै प्राधिकरणले तोकिएको समयसीमा भित्र गुनासो भए दर्ता गर्न गुनासोकर्तालाई अनुरोध गरेको छ । गुनासो गर्नेहरु दिनहुँ बढिरहेका र यो अनपेक्षित भएको उपसचिव घिमिरेले बताए ।

वास्तविक पीडितको लगत संकलनमा सहयोग गर्न पनि प्राधिकरणले स्थानीय तहका जनप्रतिनिधि र प्राविधिकलाई आग्रह गरेको छ ।

वैकल्पिक बासको व्यवस्था भएकालाई सर्वेक्षणमा समावेश नगर्न र गैर पीडित समावेश गर्न सिफारिु गरेको पाइएमा सिफारिसकर्तालाई कारबाही हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्