माथिल्लो तामाकोशीको लागत कति ?

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत करिब १५ अर्बले बढ्ने देखिएको छ । ०६६ सालमा गरिएको अनुमान ३५ अर्ब २९ करोडबाट बढेर ५० अर्बको हाराहारीमा पुग्ने देखिएको हो ।

२०६६ सालयता भएको डलरको मूल्यवृद्धि, आयोजनाको डिजाइनमा भएको हेरफेर र निर्माणको समय लम्बिएका कारण लागत बढ्न गएको हो । आयोजनाको लागतबारे एक समितिले अध्ययन गरिरहेको छ । त्यस क्रममा डलरको मूल्यवृद्धिका कारण मात्र सात अर्ब रुपैयाँ लागत बढ्ने देखिएको स्रोतले जनाएको छ ।

आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार गत आर्थिक वर्षसम्ममै ३६ अर्ब खर्च भइसकेको छ । ०६६ मा गरिएको लागतको आकलनभन्दा बढी त खर्च नै भइसकेको छ । अझै आयोजनाको १० प्रतिशतभन्दा बढी काम बाँकी छ ।

२०६५ सालको आकलनअनुसार एक मेगावाटका सात करोड ७३ लाख रुपैयाँ लाग्ने देखिएको थियो । अब भने प्रतिमेगावाट १० अर्ब लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्