नेपालको जलविद्युतमा लगानी गर्न बङ्गलादेश तयार, दुवै देशले फाइदा लिन सक्ने

काठमाडौं, बैशाख २० । नेपालको जलविद्युतमा लगानी गर्न बङ्गलादेश तयार भएको छ ।


नेपालका ऊर्जा उद्यमीसँग मिलेर बङ्गलादेशका निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानीका लागि तयार भएका हुन् ।

सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट विद्युत् आयात गर्ने विषयलाई नीतिगतरुपमा नै समावेश गरेकाले निजी क्षेत्र पनि त्यसमा होस्टेमा हैंसे गर्न तयार देखिएको हो ।

नेपालमा ऊर्जा उत्पादनको प्रचूर सम्भावना रहेको र बङ्गलादेशलाई विद्युत् आवश्यक भएकाले एक अर्काले मिलेर काम गर्न सके दुवै देशले फाइदा लिन सक्ने देखिएको छ ।

दुई देशका बीचमा सरकारीस्तरमा नै संयुक्त संयन्त्रसमेत गठन भएको र त्यसको नियमति छलफल तथा विचार आदानप्रदान भइरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गत भदौमा बङ्गलादेशको भ्रमण गर्नुभएको र बङ्गलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपालको भ्रमणसमेत गरिससकेका छन् ।

सरकार–सरकार, सरकार–निजी क्षेत्र तथा निजी–निजी क्षेत्र मिलेर संयुक्तरुपमा काम गर्न सक्ने संयन्त्रको खोजी भइरहेका बेला स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)को प्रतिनिधिमण्डलले हालै बङ्गलादेशको भ्रमण गरेको थियो ।

पछिल्लो समयमा भारत सरकारले अन्तरदेशीय विद्युत् आदानप्रदान सम्बन्धमा गुरुयोजना कार्यान्वयनमा ल्याएको तथा त्यसलाई कार्यक्रमसमेत बनाइसकेको सन्दर्भमा त्यसबाट नेपाल र बङ्गलादेशले फाइदा लिनुपर्नेमा इपानले जोड दिएको छ ।

इपानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शैलेन्द्र गुरागाइँले हाल नेपाल विद्युत् प्राधिकरणले नै गरेको विद्युत् खरीद सम्झौता गरेकै मूल्यका आधारमा नौ हजार मेगावाट विद्युत् बिक्री गर्ने वातावरण बनेको खण्डमा मात्रै रु तीन खर्ब ६० अर्ब बराबरको वार्षिक आम्दानी हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्