अब ठूला सरकारी अस्पतालमा सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध, कार्यान्वयनका लागि समिति गठन

काठमाडौं, बैशाख २० । सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले व्यवस्था गरेअनुसार काठमाडौँका ठूला सरकारी अस्पतालबाट सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध गर्न लागिएको छ ।

ऐनले व्यवस्था गरे पनि व्यवहारिकरुपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौँको अगुवाइमा पहिलो चरणमा काठमाडौँका ठूला १० अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो ।

धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकाले यसलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न वि.सं २०६८ मा सरकारले ऐन ल्याएको थियो ।

धूम्रपान वा सुर्ती सेवन गरे तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटकपटक धूमपान वा सुर्ती सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा १०० रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था छ ।

शुरुआती चरणमा जरिवाना गराएर कार्यान्वयन गर्न थालिए पनि कार्यक्रमले निरन्तरता नपाउँदा ऐन कार्यान्वयन हुन सकेको छैन ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । उक्त अभियान यही वैशाख २९ गतेदेखि सञ्चालन गरिँदै छ ।

पहिलो चरणमा केन्द्रीय अस्पताल वीरसहित महाराजगञ्जस्थित शिक्षण अस्पताल, कान्तिबाल अस्पताल, प्रसूति गृह, सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, निजामती अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र, नेपाल आयुर्वेद अस्पताल र तिलगङ्गा आँखा अस्पतालमा ऐन कार्यान्वयन गरी सुर्तीजन्य पदार्थ प्रयोग निषेध गर्न लागिएको हो ।

सार्वजनिक स्थान, सरकारी कार्यालय, अस्पताल उद्योग, कलकारखाना, शिक्षण सङ्घसंस्था, विमानस्थल, होटल, सिनेमा घरलगायत क्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग गर्न पाइँदैन । अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधनभित्रसमेत धूमपान गर्न नहुने ऐनमा उल्लेख छ ।

कार्यान्वयनका लागि समिति गठन

सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रणसम्बन्धी विशेष अभियान सञ्चालनको विषयमा आज काठमाडौँमा सरोकारवालाबीच छलफल भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको आयोजनामा भएको कार्यक्रममा उक्त अभियानका लागि सम्बन्धित क्षेत्रका सामुदायिक सेवा केन्द्रका प्रतिनिधिको अध्यक्षतामा सम्बन्धित अस्पताल, वडा कार्यालय,प्रहरीवृत्त,समुदाय प्रहरी साझेदारीका विभिन्न समिति, नागरिक समाज,स्वास्थ्य संस्था र सञ्चारकर्मी सम्मिलित समिति गठन गरिएको छ ।
यही २९ गतेदेखि पहिलो चरणमा प्रचारप्रसारका कार्यक्रमलाई तीव्रता दिने,सूचना टाँस गर्ने,अस्पताल नजिक रहेका होटलमा सुर्तीजन्य पदार्थ हटाउन लगाउने र त्यसपछि पनि बिक्री वितरण र प्रयोग गरेको पाइएमा कारवाहीको प्रक्रिया अगाडि बढाउने गरी अभियान सञ्चालन हुने छ ।


अस्पतालको १०० मिटरसम्म सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखनमा रोक लगाइने परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जरिवाना नगरी ऐन कार्यान्वयन हुने अवस्था नदेखिएकाले कडाइका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्