सरकारले ल्यायो राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल सञ्चालनमा

काठमाण्डौ , बैशाख १५ । सरकारले ‘राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल’ पनि संचालनमा ल्याएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा आयोजित राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा ‘राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल’ सेवाको शुभारम्भ गरेका हुन् ।

राष्ट्रिय योजना आयोगका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीको निर्देशनमा केन्द्रीय तथ्यांक विभागले तयार पारेको यो अनलाइन डाटा पोर्टलको नाम डब्लु डब्लु डब्लु डट नेशनलडाटा डट जीओभी डट एनपी
(http://www.nationaldata.gov.np)  राखिएको छ ।

संघ, प्रदेश र स्थानीय तहको सबै डाटाहरु एकीकृत रुपमा अनलाइन सेवामार्फत् सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यका साथ यो अनलाइन पोर्टल संचालनमा ल्याइएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए ।

खुला तथ्यांकको सिद्धान्त बमोजिम तथ्यांक तथा सूचनामा सरोकारवालाहरुको पहुँच सुनिश्चित गर्न पनि यो अनलाइन पोर्टल संचालनमा ल्याइएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । राष्ट्रिय योजना आयोगसँगको निरन्तरको अन्तरक्रियामा आधारित भएर तयार पारिएको यो अनलाइन डाटा पोर्टलले संघ, प्रदेश र स्थानीय तहको तथ्यांकीय तथा सूचना व्यवस्थापनको क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यमा पनि रहेको छ ।

गएको मंसीर २१ गते बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले तथ्यमा आधारित तथ्यांक संकलनका लागि आवश्यक पोर्टलको व्यवस्था गर्न निर्देशन दिनु भएको थियो । यही निर्देशन अनुसार यो अनलाईन पोर्टल संचालनमा ल्याइएको पनि केन्द्रीय तथ्यांक विभागका महानिर्देशक अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्