राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना सांसदहरुप्रति असन्तुष्टि भने – ४ करोडसम्म बजेट माग्ने काम संघीयता विरोधी
काठमाडौं, बैशाख १२ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट माग्ने गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले संघ र प्रदेशका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा पनि निर्वाचन क्षेत्र विकास कोषका लागि ४ करोडसम्मको बजेट माग्ने काम संघीयता विरोधी भएको उल्लेख गर्दै आपत्ति समेत जनाए ।
बिहीबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह र प्रदेशमा समेत जनप्रतिनिधिहरु रहेकाले अव सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट माग्न नमिल्ने पनि स्पष्ट पारे ।
अध्यक्ष तिमिल्सिनाले वडा र गाउँ तहलाई समृद्ध बनाउने गरी बजेट विनियोजन गरे सांसदहरुका लागि निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट विनियोजन गरिरहन नपर्ने पनि स्मरण गराए ।
सांसदहरुले आफू खुसी खर्च गर्न बजेट मागे त्यसले संघीयतालाई बलियो नभई कमजोर बनाउने अध्यक्ष तिमिल्सिनाको तर्क छ ।
अध्यक्ष तिमिल्सिनाले प्रदेश र स्थानीय सरकारलाई आर्थिक अधिकारसहितको कानुन निर्माण र कार्यान्वयनको तहमा संघीय सरकारलाई सचेत गराउन पनि संसदीय समितिहरुको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस्