एभरेष्ट बैंकको तेस्रो तैमासको नाफा दुई अर्बमाथि
काठमाडौं ०९ बैशाख । काठमाडौं, ९ बैशाख । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । विगतमा पनि राम्रो प्रगति गर्दै आएको बैंकले यस पटक १८.३७ प्रतिशतले नाफा बढाएको छ । बैंकले समग्र कारोबारबाट दुई अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । गत बर्ष बैंकको यस्तो नाफा एक अर्ब ८७ करोड रुपैयाँ नाफा गरेको थियो।
निक्षेप संकलनको तुलनामा ऋणको विस्तार अधिक देखिन्छ । बैंकले १६.४६ प्रतिशतले निक्षेप बढाउँदा ऋण लगानी २५ प्रतिशतले वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंकले अन्तर बैंक कर्जा प्रवाहलाई सिसिडिमा गणना गर्न पाइने व्यवस्था गरेसँगै बैंकको कर्जा प्रवाह एक खर्ब ८ अर्ब रुपैयाँको गरेको छ । सिसिडी प्रयोजनका लागि ६ अर्ब ६४ करोड रुपैयाँ अन्तर बैंकिङ लगानी समेत गरेको छ ।
बैंकको व्याज आम्दानीको तुलनामा व्याज खर्च अधिक हुँदा खुद व्याज आम्दानी १६.८७ प्रतिशतले मात्रै सुधार भएको छ । बैंकको व्याज आम्दानी ३१.३९ प्रतिशत बढ्दा व्याज खर्च ४५.२० प्रतिशतले बढेको देखिन्छ। बैंकले चैतसम्ममा ४ अर्ब १० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा निक्षेप तथा कर्जा प्रवाहमा भने खासै सुधार देखिंदैन । निक्षेप संकलनमा नगन्य सुधार भएको छ भने ऋण लगानी तीन अर्ब रुपैयाँले मात्रै बढेको देखिन्छ।
बैंकको पूँजीकोष अनुपात १५.७० प्रतिशतबाट १३.३८ प्रतिशतमा खुम्चिएको छ। खराब कर्जा ०.२३ प्रतिशतबाट घटेर ०.१८ प्रतिशतमा झरेको छ। प्रति शेयर आम्दानी ५.३८ रुपैयाँले सुधार भएको छ। बैंकको प्रति शेयर आम्दानी ३६ रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २४ प्रतिशतले बढेर ८ अर्ब ४४ करोड रुपैयाँ जम्मा भएको छ ।
प्रतिक्रिया दिनुहोस्