बजेट अभावले थला पर्दै महाकाली सिँचाइ
काठमाडौं, वैशाख ६ गते । कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत मूलनहर निर्माणको काम बजेट अभावले थला पर्ने भएको छ ।
भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा करीब १३ किलोमिटर मूल नहर बनेपछि १५ महीनाअघि थप १५ किलोमिटर मूल नहर निर्माणका लागि तीनवटा प्याकेजमा सम्झौता भएको थियो ।
निर्माण कम्पनीले काम गरेअनुसारको भुक्तानी पाउनसक्ने अवस्था छैन । महाकाली सिँचाइ तेस्रोचरण आयोजनाका निर्देशक लोकबहादुर थापाले बजेट अभावले नहर निर्माणको काम रोकिने अवस्थामा पुगेको जानकारी दिए ।
यता झण्डै डेढवर्ष बितिसक्दा पनि आयोजना कार्यालयले पनि नहर निर्माण क्षेत्रमा पर्ने जग्गाको मुआब्जाको विषय टुङ्ग्याउन सकेको छैन ।
यहाँको बेदकोट नगरपालिकाको मुसेपानीदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्मको मूल नहर निर्माणमा मुआब्जा र वनको विषय टुङ्गो नलाग्दा निर्माण कम्पनीले पनि काममा गति दिन सकेका छैनन् ।
निर्माण कम्पनी खोला तथा नदीमा ‘साइफन’ निर्माणदेखि पुल हुँदै सरकारी जमीनमा नहर निर्माण गरिरहेका छन् । ‘चालु आर्थिक वर्षमा रु १५ करोड रकम आएको थियो ।’ महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका निर्देशक थापाले भने ,“रकम आएअनुसारको काम सकेर अब ठेकेदारलाई भुक्तान दिन सक्ने अवस्था छैन ।”
तीन वर्षमा सक्नेगरी रु तीन अर्बको काम दिए पनि आवश्यक बजेट नआउँदा काममा ढिलाइका साथै आयोजनाको अवधि पनि लम्बिने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्