रसुवागढी र सान्जेनको सेयर बिक्री सुरु, सभामुख र उर्जामन्त्रीले दिए आवेदन

काठमाडौं, बैशाख ६ । रसुवागढी र सान्जेनको सेयर बिक्री सुरु भएको छ ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १ सय ११ मेगावाट उत्पादन क्षमताको रसुवागढी र ४२ दशमलब ५ मेगावाट उत्पादन क्षमताको सान्जेन जलविद्युत आयोजनाले आजबाट सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेका हुन्।

सभामुख कृष्ण बहादुर महराले आयोजनाको साधारण सेयर बिक्री वितरणका लागि औपचारिक रुपमा सुरु गरेका हुन् ।

सभामुख महराले रसुवागढी जलविद्युत आयोजनामा १ लाख रुपैयाँ बराबरका १ हजार कित्ता र सान्जेनमा ५० हजार रुपैयाँ बराबरका ५ सय कित्ता सेयर खरिद गरेका छन् ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन तथा पूर्व सभामुख ओनसरी घर्ती र सभामुख महरा पत्नी सीता महराले पनि समान रसुवागढीको १ हजार र सान्जेनका ५ सय कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन्।

ती आयोजनाहरूको सेयर सर्वसाधारणले प्रतिकित्ता १ रुपैयाँका दरले खरिदका लागि बैसाख १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

सबै सर्वसाधारणलाई जलविद्युतको विकासमा लगानीको अवसर प्रदान गर्ने उद्देश्यका साथ फाल्गुण २ गते ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ नाराका साथ ‘जनताको जलविद्युत कार्यक्रम’ घोषणा गरिएको थियो।

कार्यक्रम घोषणा गर्दा १९ वटा आयोजना मात्र राखिएको भएपनि पछि रसुवागढी र साञ्जेनलाई पनि समावेश गरेको थियो।

रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजना नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लिमिटेडको मुख्य प्रवर्द्धकत्वमा स्थापित रसुवागढी हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ।

रसुवामा नै बनिरहेको सान्जेन जलविद्युत आयोजना सान्जेन जलविद्युत कम्पनी लिमिटेडले गरिरहेको छ। उक्त आयोजनाको हालसम्ममा कुल प्रगति ७० प्रतिशत भएको छ।

यसअन्तर्गत पूर्वाधार निर्माण सय प्रतिशत, सिभिल निर्माण कार्य ७० प्रतिशत इलेक्ट्रोमेकानिकल कार्य ५९ प्रतिशत र हाइड्रोमेकानिकल कार्य ५५ प्रतिशत प्रगति भएको छ।

प्रतिक्रिया दिनुहोस्